Logo
७ जेष्ठ २०८१, सोमबार
(March 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्पदा संरक्षणमा उपमेयर र आफूबीचमा देखिएको विवाद मिडियामा आएको जस्तो छैन : शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताएका छन् ।

आफ्नो कार्यकालमा सम्पदा क्षेत्रमा भएको कामबारे जानकारी गराउन आज (शुक्रबार) पत्रकार सम्मेलन गरेका मेयर शाक्यले सम्पदा संरक्षण सम्बन्धमा उपमेयर र आफूबीचमा देखिएको विवाद सञ्चारमाध्यममा आएको हेडलाइन जस्तो नभएको बताएका हुन् ।

‘विवादको विषयमा जे-जे हेडलाइन आए त्यस्तो हैन, कन्टेन्ट ठिक थियो । तर हेडलाइनमा अलि कडा आउँदा धेरै ठुलो हो कि जस्तो लागेको हो’ उनले भने । रानीपोखरीमा कंक्रिट विवादमा आफ्नो अडान अहिले पनि कायम रहेको उनले बताए ।

केही केही विषयमा उपमेयर हरिप्रभा खड्कीले विवाद ल्याउन खोजेपनि आफूले नगर सभा र कार्यपालिकाको निर्णय भन्दा बाहिर गएर कुनै काम नगरेको उनको भनाइ छ ।

रानीपोखरी वर्षमा एक दिन हैन, सधैँ खुला हुनुपर्छ भन्ने आफ्नो योजना अनुसार काम गर्न खोजेको उनले बताए । कफी सप र शौचालय भने आफूले मन्दिर भित्र नभई शान्तिबाटिकामा बनाउन चाहेको र अहिले बनिरहेको पनि उनले बताए ।

उपमेयर र मेयरको विवादबारे एउटै मञ्चमा बहस गर्न आफू तयार रहेको उनको भनाइ थियो ।मेयर शाक्यले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । केही-केही काम आफूले घोषणा गरेको अनुसार नभए पनि धेरै काम सम्पन्न भएको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा जनता खुसी भएको भन्दै उनले यसले आफू पनि सन्तुष्ट भएको बताए । पहिले बनाउन नसकिएको मन्दिर र गुठी आफ्नो कार्यकालमा बनेको भन्दै यसले जनताहरु उत्साहित भएको शाक्यले बताए ।

सम्पदाका क्षेत्रमा आफ्नो कार्यकालमा भएको कामबारे विस्तृत विवरण सुनाएका मेयर शाक्यले अन्य क्षेत्रमा भएको कामबारे पनि चाँडै जानकारी दिने बताए ।

फोहोर व्यवस्थापनमा मेयर सफल हुन लागेको भनेर केही-केही मान्छेले खेल खेलिरहेको समेत उनको आरोप थियो।यसै गरी मेयर शाक्यले निर्वाचन आयोगले बनाएको आचारसंहिताको विषयमा आपत्ति जनाएका छन् ।

जनताले जिताएर पठाएका जनप्रतिनिधिलाई पुनः उम्मेदवारी दिन राजीनामा दिनुपर्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनको भनाइ थियो ।

मेयरमा पुनः निर्वाचन लड्ने विषयमा पार्टीले जे निर्णय गरे पनि आफूलाई मान्य हुने उनले बताए ।

प्रकाशित मिति: Mar 18, 2022

प्रतिक्रिया दिनुहोस्