Logo
२३ बैशाख २०८१, आईतबार
(March 10, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् । साथै देउवाले हालै संसद्बाट पारित भएको एमसीसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे । उनले हालै गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरूसँग छलफल चलिरहेको बताए ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बिचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए ।

 

विसं २०७४ को चुनावमा काँग्रेस कमजोर भएर नभई सबै कम्युनिस्टहरू एक भएकाले काँग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको समेत बताए ।

विभिन्न दल परित्याग गरी काँग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार ९मन्टु०लगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले काँग्रेस पार्टीमा स्वागत गरेका छन् ।

काँग्रेस पर्साका नवनिर्वाचित अध्यक्ष जनारधनसिंह क्षेत्रीको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य द्वय रमेश रिजाल, अजय चौरसिया, संविधानसभा सदस्य अनिल रुङ्गटा, प्रतिनिधिसभाका पूर्व सदस्य सुरेन्द्र चौधरीलगायतले आउने तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत हासिल गर्ने दाबी गरेका थिए ।

प्रकाशित मिति: Mar 10, 2022

प्रतिक्रिया दिनुहोस्