Logo
२९ बैशाख २०८१, शनिबार
(March 1, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिको दिनले सबैलाई बागमती नदीलाई स्वच्छ र सफा राखिरहनका लागि प्रेरणा मिल्ने विश्वास लिएको बताएकी छन् । साथै भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले मंगलबार शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै सबै नेपालीको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरिन् ।

सन्देशमा भनिएको छ, ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ, शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू-भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालसँग रहनु हाम्रा लागि गौरवको विषय हो ।’

मुलुकका धेरै समुदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिबिम्बित भएको पाइएको उनको भनाइ छ । आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात्शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा भनिएको छ ।

वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित रहेको भन्दै प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गरेको भण्डारीले बताइन् ।

सौम्यशक्तिले मानव चेतनामा असल पक्षको बोध गराई त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवम् सुन्दरम्’ प्राचीन लोकोक्तिका रूपमा रहेको राष्ट्रपति भण्डारीद्वारा जारी सन्देशमा भनिएको छ ।

रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ । यसरी मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई हाम्रा अनेक सांस्कृतिक चाडपर्व जस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरिरहेको पाइन्छ ।

राष्ट्रपति भण्डारीले महाशिवरात्रिका अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाहरूको यथोचित संरक्षण एवं संवर्द्धन गर्न प्रण गर्नुपर्नेमा समेत जोड दिइन् । पाशुपत क्षेत्रलगायत मुलुकका विभिन्न भागमा छरिएर रहेका मूर्त एवं अमूर्त सम्पदाको गहिरो अध्ययन गर्न विश्वविद्यालयहरू, अनुसन्धान संस्था एवं अध्येताहरूले अग्रसरता लिनुपर्ने राष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

आधुनिकताको प्रभावसँगै पर्वहरू मनाउने शैलीमा समेत परिवर्तन भइरहेको पाइन्छ । मौलिकतालाई कायम राख्दै परिवर्तनलाई ग्रहण गर्न र परम्पराका नाममा प्रचलित कतिपय अव्यावहारिक पक्षहरूलाई त्याग गर्न सरकारका सबै निकायका साथै नागरिकको सक्रियता आवश्यकता रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति: Mar 1, 2022

प्रतिक्रिया दिनुहोस्