Logo
२८ बैशाख २०८१, शुक्रबार
(February 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि आजदेखि दल दर्ता आह्वान गरेको छ । आयोगले दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता गर्न आह्वान गरेको हो ।

वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यपालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए ।

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि आज (बिहीबार)देखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ ।

त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने हुन्छ । आव २०७६/७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले आव ०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरणसमेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।आयोगमा दलले आर्थिक वर्ष ०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्ने हुन्छ ।

आव ०७७/७८ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आव २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा अलग(अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

दलको केन्द्रीय स्तर, प्रदेश स्तर र जिल्ला स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ ।

यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीन वटा निर्वाचन चिह्न प्राथमिकता क्रमअनुसार उल्लेख गर्नु पर्ने हुन्छ ।

निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिह्नको नमुना समेत आयोगमा दल दर्ताको क्रममा पेस गर्नु पर्ने हुन्छ ।

राजनीतिक दलको विधानबमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारी विवरण आयोगमा पेस गर्नु पर्ने हुन्छ ।

प्रकाशित मिति: Feb 17, 2022

प्रतिक्रिया दिनुहोस्