Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट भन्सारमा ईपेमेन्टको सुरुवात, अब महसुल अनलाइनमार्फत नै तिर्न सकिने

आजबाट भन्सार महसुलको विद्युतीय भुक्तानी ईपेमेन्ट प्रणालीको शुरुवात भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आज आयोजित एक समारोहबीच भन्सार महसुलको विद्युतीय भुक्तानी (ईपेमेन्ट) प्रणालीको सुरुआत गरेका हुन् ।

ईपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्न सक्ने भएका छन् । योसँगै ‘नयाँ युग’को सुरुआत भएको जनाउँदै उनले यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले भन्सार विन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधारअन्तर्गत ‘भेकल स्क्यानर’ ल्याउने कार्य अन्तिम चरणमा रहेको जानकारी गराए।

मन्त्री शर्माले ‘भेकल स्क्यानर’ मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । उनले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिबद्ध रहेको उनले उल्लेख गरे । निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझाव सरकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने उनले विश्वास दिलाए ।

यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको शृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितमा केही चाप परेको जानकारी गराउँदै उनले अर्थतन्त्र धराशायी नभएको बताए । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै अर्थमन्त्री शर्माले त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताए ।

समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए।

त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने जनाउँदै उनले यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औँल्याए ।

हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्