Logo
७ जेष्ठ २०८१, सोमबार
(January 26, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

कोभिड-१९ संक्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ ।जाजरकोट जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई एक लाखका दरले वितरण गरेको हो ।

कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त १७ लाखबाट मृतकका परिवारलाई एक लाखका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

कोभिड-१९ का समयमा परिवारका सदस्य गुमाएर पीडामा परेका परिवारलाई उक्त रकमले केही राहत मिल्ने प्रजिअ देवकोटको भनाइ छ ।

कोभिड-१९ बाट मृत्यु भएका मृतकका परिवारलाई राहत वितरण कार्यविधि, २०७८ को अनुसूची १, २ र ३ मा उल्लेख भएबमोजिम सरकारले मान्यता दिएको ल्याबले प्रमाणित गरेको, कोभिड-१९ सङ्क्रमित भएको पिसीआर रिपोर्ट र एन्टिजेन रिपोर्ट सक्कल प्रति दुईमध्ये कुनै एकलाई आधार मानेर कर्णाली प्रदेश सरकारले निर्णय गरी राहतस्वरुप उक्त रकम उपलब्ध गराएको छ ।

कोरोना सङ्क्रमणबाट छेडागाड-६ का रत्नप्रसाद शर्मा, नलगाड-११ का भीमबहादुर मल्ल, नलगाड-७ का वीरबहादुर सिंह, नलगाड-५ की गङ्गादेवी शाही, नलगाड-४ का गणेशबहादुर रावल, नलगाड-३ का पठवीर थापा, भेरी-३ की कृष्णा शाह, भेरी-१० का तुलवीर राना, भेरी-४ की लीला नेपाली, भेरी-६ की सरीदेवी खड्का, शिवालय-६ का हरिभक्त रोकायलगायत १७ जनाको ज्यान गएको थियो ।

कोरोना सङ्क्रमणले आफन्त तथा अभिभावक गुमाएका परिवारलाई राहत रकमले केही राहत मिलेको बुवा गुमाएका नलगाड-४ का सुधन रावलले बताए ।

कोरोना सङ्क्रमणबाट मृत्यु भएका १७ मध्ये १४ जनाले रकम बुझिसकेको र तीन जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

भुक्तानी दाबी गर्नका लागि कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्यु दर्ताको प्रमाण तथा सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

जाजरकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ४४ पुग्यो

जिल्लामा कोरोनाबाट १२ जना सङ्क्रमित भएका छन् । मङ्गलबार स्वास्थ्य सेवा कार्यालयको प्रयोगशालामा १९ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य सेवा कार्यालयका फोकल पर्सन कृष्णबहादुर खत्रीले जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालयमा मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ पुगेको खत्रीले बताए । सङ्क्रमितको सङ्ख्या बढ्ने खत्रीको भनाइ छ । केही महिना कोरोना सङ्क्रमित शून्य रहेको जाजरकोटमा तेस्रो लहर फैलिएपछि सङ्क्रमणदर बढेको हो ।

दोस्रो लहरमा दुई हजार जनामा सङ्क्रमण देखिएको थियो भने १७ जनाको ज्यान गएको थियो । परीक्षण दायरा बढाउनुपर्ने जाजरकोट अस्पतालका डा औसरसिंह राठौरले बताए ।

मङ्गलबारदेखि बुस्टर डोज दिन सुरु गरिएको छ । पहिलो दिन ३५ जनाले सो खोप लगाएका छन् ।रासस

प्रकाशित मिति: Jan 26, 2022

प्रतिक्रिया दिनुहोस्