Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने पार्टीको निर्णय

जसपा नेपालले पार्टीका केन्द्रीय सदस्य प्रदीप यादवलाई कारवाही गर्ने निर्णय गरेको छ ।

जसपा नेपालले मन्त्री नबनाएको रिसमा सांसद यादवले आफ्ना कार्यकर्तालाई आन्दोलनमा उतारेर पार्टीको झण्डा र पार्टी कार्यालय तोडफोड गरेको आरोप छ ।

बुधबार राति सम्पन्न कार्यकारिणी समितिको बैठकबाट प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय भएको जसपाका प्रचार विभाग प्रमुख एवं कार्यकारिणी सदस्य डम्बर खतिवडाले बताए ।

अर्को निर्णय नआउन्जेलसम्मका लागि सांसद यादवलाई केन्द्रीय समितिबाट निष्काशन गरिएको उनले बताए ।बैठकमा सहभागी एक नेताका अनुसार यादवलाई पार्टीको साधारण सदस्यबाटै हटाउने तयारी थियो ।

बैठकमा सोहीअनुसार प्रस्ताव आए पनि जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलगायत अन्य नेताहरुले साधारण सदस्यबाट हटाउन उचित नहुने धारणा राखेपछि केन्द्रीय समितिबाट मात्र हटाइएको ती नेताले बताए ।

अध्यक्ष भट्टराईले सांसद यादवबाट गल्ती भएको ठहर गर्दै उनीमाथि अनुशासनको कारवाही हुनुपर्ने तर साधारण सदस्यबाटै हटाउन उचित नहुने धारणा राखेका थिए ।

कार्यकारिणी सदस्य इस्तियाक राईले पनि यादवलाई साधारण सदस्यबाट निष्काशन गर्दा पार्टीलाई घाटा हुने धारणा राखेको स्रोत बताउँछ ।

बैठकमा पार्टीका कार्यकारिणी सदस्यहरु अशोक राई, नवराज सुवेदी, गंगा श्रेष्ठ, मनिष सुमन, राजकिशोर यादव, प्रशान्त सिंह, रेणु यादवलगायतका नेताहरुले प्रदीप यादवबाट गल्ती भए पनि साधारण सदस्यबाटै हटाउन नहुने धारणा राखेका थिए ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रदीप यादवले कार्यकर्ता उतारेर गरेको आन्दोलनका बारेमा पार्टी कार्यालयका सचिव प्रकाश अधिकारीले बैठकलाई सम्पूर्ण जानकारी गराएका थिए ।

अधिकारीले बैठकमा प्रदीप यादवले १६ जना युवालाई टिकट काटेर काठमाडौं बोलाएकोसम्मको प्रमाण पेस गरेका थिए ।जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि प्रदीप यादवलाई कारवाही गर्ने पक्षमा आफू नरहेको तर पार्टीभित्र अनुशासन कायम गर्नका लागि कुनै न कुनै कारवाही गर्नुपर्ने धारणा राखेका थिए ।

प्रदीप यादवले आफ्नो पुतला जलाएको भन्दा पनि पार्टीको झण्डा जलाउनु र पार्टी कार्यालयमा तोडफोड गर्न लगाउनु ठूलो गल्ती भएको अध्यक्ष यादवको भनाइ थियो । उनको प्रस्तावमा सबैले सहमति जनाएको स्रोत बताउँछ ।

कसैले एकपटक गल्ती गर्दैमा उसलाई सधैँ त्यही व्यवहार गर्नुपर्छ भने पक्षमा आफू नरहेको पनि अध्यक्ष यादवले बैठकमा बताएका थिए । ‘कोही सुध्रिएर आउँछ भने मिलेर काम गर्न म तयार छु,’ उनले भने ।

प्रदीप यादवलाई केन्द्रीय समितिबाट कारवाही गरिए पनि उनीसँग मिलेर काम गर्न सकिने अध्यक्ष यादवको भनाइ थियो ।

सांसद प्रदीप यादवलाई यसअघि पनि कारवाही भइसकेको हो । लातभियाको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पारलियामेन्टरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा पार्टीको नीति विपरीत तथा पार्टीलाई जानकारी नगराई भाग लिन गएको भन्दै सांसद यादवलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको थियो । उनीमाथि पार्टीले दोस्रो पटक कारवाही गरेको हो ।

 

प्रकाशित मिति: Nov 25, 2021

प्रतिक्रिया दिनुहोस्