Logo
६ जेष्ठ २०८१, आईतबार
(November 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि ई-पासपोर्ट जारी, यस्ता छन् विशेषता

आजदेखि सरकारले विद्युतीय राहदानी जारी सुरु गरेको छ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट सार्वजनिक गर्ने भएका छन् ।

ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आईकाओले ई-पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ ।

अब ई-पासपोर्ट वितरण सुरु हुने बताइएको छ । विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा शुरु हुने ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको छ ।

अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट एमआरपी जारी गरिरहेको छ । एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले शुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो ।

ई-पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका तस्वीरहरू राखिएका छन् ।राहदानी विभागका प्रवक्ता शरदराज अरनका अनुसार विभागले केही दिनसम्म सीमितरुपमा ई-पासपोर्ट वितरण गर्ने भएको छ ।

पूर्णरुपमा ई–पासपोर्ट वितरण नभइञ्जेल अत्यावश्यक परेकालाई वा स्वेच्छिकरुपमा पनि एमआरपी वितरण पनि निरन्तर भइरहनेछ । सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग ई-पासपोर्ट छपाइका लागि २ अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सुरक्षित मानेको ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा प्रचलनमा छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो भनिएको छ ।

ई-पासपोर्टमा मोबाइलको जस्तै विद्युतीय ‘चिप’को प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ । यसको सेक्युरिटी फिचर पनि बलियो हुन्छ ।

ई-पासपोर्ट लागू भएपछि राहदानी दुरुपयोग हुने सम्भावना रोकिने सरकारको विश्वास छ । इलेक्ट्रोनिक डाटामा बायोमेट्रिक राखिँदा एउटाको विवरण अर्को व्यक्तिसँग मिल्दैन ।

एउटा देशमा अपराध गरेर अर्को देशमा उड्नेलाई अध्यागमनमै रोक्न सकिने विश्वास सरकारले लिएको छ ।मन्त्रिपरिषद्को यसअघिको बैठकले गरेको निर्णयअनुसार ई-पासपोर्टमा ६४ वटा पृष्ठहरु हुनेछन् ।

सरकारले यी पृष्ठहरुमा सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र विभिन्न पर्यटकीय ठाउँहरुको तस्बिर अंकित गरेको छ ।पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा नेपालको राष्ट्रिय झण्डा रहने भएको छ ।

पहिलो पृष्ठमा सगरमाथा रहनेछ । दोस्रो पृष्ठमा पोलिकार्बनेट डेटा पेज हुनेछ ।

प्रकाशित मिति: Nov 17, 2021

प्रतिक्रिया दिनुहोस्