Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालबालिकालाई भविष्यको जिम्मेवार नागरिक बनाउने राज्यको दायित्व हो : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् ।

राष्ट्रिय बाल दिवस-२०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरिन् ।

नेपालले संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धी अनुमोदन गरी बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारी-बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका गरी मनाइँदैछ ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै राष्ट्रपतिले यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको उल्लेख गरेकी छन् ।

संविधानको मार्गदर्शन बमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयमा उल्लेख्य कार्यहरू हुँदै आएका छन् ।

विश्वव्यापी महामारी कोभिड–१९ का कारण लामो समयदेखि जारी बन्दाबन्दीका कारण बालबालिकाहरूको नियमित पठनपाठनमा अवरोध उत्पन्न भएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘देशका दुर्गम गाउँ र बस्तीमा रहने बालबालिकाहरूले अनलाइन कक्षाबाटसमेत बञ्चित हुनुपरेको अवस्था छ ।

१८ वर्षमुनिका बालबालिकाका लागि कोभिड(१९ विरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा रहेका छन् ।’

बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ-आफ्नो भूमिका निभाउन उनले सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गरेकी छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक संंघ-संस्था, निजी क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आएको भूमिकाका लागि राष्ट्रपतिले सबैमा धन्यवाद दिएकी छन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।रासस

 

प्रकाशित मिति: Sep 14, 2021

प्रतिक्रिया दिनुहोस्