Logo
९ जेष्ठ २०८१, बुधबार
(August 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु, आज पहिलो दिन बिरुडा राख्दैँ

सुुदूरपश्चिम प्रदेशमा मुख्य पर्व गौरा आजदेखि सुरु भएको छ ।

गौरा पर्वको पहिलो दिन आज पञ्चमीका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्दछन् ।  आजको दिन महिलाहरुले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउँछन् भने पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मंगल गीत गाउँदै घरमा ल्याएर राख्छन् ।

विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठ सूत्र धारणा गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी भोजन ग्रहण गर्ने परम्परा रहेको छ ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा(पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप-बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आहृवान गर्ने कार्यलाई बिरुडा भन्ने गरिन्छ ।

 

सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ । सात गाँठो पारिएको दुर्वासहितको कण्ठ सूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राख्ने गरिन्छ ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतीमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतीमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबालीमा गौरा र महेश्वरलाई शिरमा राखेर नाँच्ने गर्दछन् ।

गौराका अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिन्छ ।

गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने चलन रहेको छ ।

प्रकाशित मिति: Aug 27, 2021

प्रतिक्रिया दिनुहोस्