Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद शाही र वलीलाई पदमुक्त नगरेसम्म लुम्बिनी प्रदेशसभा चल्न नदिने एमालेको चेतावनी

लुम्बिनी प्रदेशसभाका सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने नेकपा एमालेले चेतावनी दिएको छ ।

एमालेले दलको ह्वीप उल्लंघन गरेको भन्दै शाही र वलीलाई कारबाही गर्न प्रदेशसभा सचिवालयमा पत्र दिएको थियो । तर आइतबार सभामुख पूर्णबहादुर घर्तीले सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएका थिए ।

एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ ।

त्यसपछि पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो ।

प्रमुख सचेतक भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म निज बिमलाकुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले अगाडि बढाएको संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।’

 

प्रकाशित मिति: Aug 22, 2021

प्रतिक्रिया दिनुहोस्