Logo
६ जेष्ठ २०८१, आईतबार
(August 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आउँदो तीनै तहका निर्वाचनसम्म गठबन्धन कायम राख्ने प्रचण्डको प्रस्ताव

केपी ओलीविरुद्ध बनेको सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव अघि सारेको छ ।

काठमाडौंमा शनिवार शुरु भएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा ओलीविरुद्धको गठबन्धन लोकतान्त्रिक प्रणाली, संविधान र स्थायित्व तथा सुशासनका लागि भएकाले आउने चुनावसम्म कायम राख्ने नीति रहने उल्लेख छ ।

अध्यक्ष ‘प्रचण्ड’ ले आउँदो चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी समेत गरेका छन् ।एमालेसँगको एकता र गठबन्धन उपयुक्त भए पनि केपी ओलीको अहंकार र दम्भका कारण नेकपा विघटन भएको भन्दै प्रचण्डले आफ्नो प्रतिवेदन मूल रुपमा ओलीविरुद्ध केन्द्रित गरेका छन् ।

आफ्नो प्रस्तावमा प्रचण्डले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा माओवादीलाई नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने समेत योजना अघि सारेका छन् । उनले ओलीबाहेकका कम्युनिस्टहरुको एकीकरण गर्ने समेत बताएका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ । तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उनले बताएका छन् ।

प्रकाशित मिति: Aug 14, 2021

प्रतिक्रिया दिनुहोस्