Logo
१७ बैशाख २०८१, सोमबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवा सरकारले प्रचण्डलाई खतरा रहेको भन्दै सुरक्षाका लागि थप्यो सुरक्षाकर्मी

सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खतरा रहेको निचोड निकाल्दै सुरक्षा व्यवस्था थप गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सचिवस्तरीय निर्णय गरेर नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) को नेतृत्वमा थप सुरक्षाकर्मी खटाइएको हो ।

गृहको परिपत्र कार्यान्वयन गर्दै प्रहरी प्रधान कार्यालयले डिएसपी विनोद घिमिरेको नेतृत्वमा १० सुरक्षाकर्मी शनिवारदेखि दाहालको सुरक्षाका लागि खुमलटार खटाएको जनाएको छ । अब उनको सुरक्षामा डीएसपीसहितका प्रहरीको गाडी अगुवा र सशस्त्रको गाडी पछुवाका रूपमा खटिनेछ ।

केही महिना अघि गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ जारी गरेको थियो। उक्त मापदण्ड अनुसार अघिल्लो सरकारले दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो ।

उनको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ र सशस्त्रबाट इन्स्पेक्टरसहित ४७ जना सुरक्षाकर्मी खटिँदै आएकामा १८ जनामा सीमित गरिएको थियो । पूर्वप्रधानमन्त्रीका लागि सशस्त्र प्रहरीबाट १६ र नेपाल प्रहरीबाट २ जना खटाउने मापदण्ड छ ।

उक्त मापदण्डअनुसार पूर्वप्रधानमन्त्रीलाई १६ सशस्त्र र २ प्रहरी आजीवन, पूर्वराजालाई १६ सशस्त्र र २ प्रहरी, पूर्वराष्ट्रपतिलाई २१ सेना, पूर्वउपराष्ट्रपतिलाई ११ सशस्त्र र २ प्रहरी, पूर्वप्रधानन्यायाधीशलाई ६ सशस्त्र (५ वर्ष) र २ प्रहरी, पूर्वसभामुखलाई कार्यकाल सकिएको ३ वर्षसम्म २ प्रहरी, पूर्वउपप्रधानमन्त्रीलाई २ जना २ वर्षसम्म, पूर्वगृहमन्त्रीलाई २ जना १० वर्षसम्म, पूर्वरक्षामन्त्रीलाई २ सेना २ वर्षसम्म, पूर्वमन्त्रीलाई एक जना प्रहरी २ वर्षसम्म, अख्तियारका पूर्वप्रमुख आयुक्तलाई अवकाश पाएको १० वर्षसम्म ७ सशस्त्र र २ प्रहरी खटाउने उल्लेख गरिएको छ ।

यस्तै पूर्वमहान्यायाधिवक्तालाई २ वर्षसम्म २ प्रहरी, संवैधानिक निकायका पूर्वप्रमुखरसदस्यलाई २ वर्षसम्म एक प्रहरी, पूर्वमुख्यसचिवलाई २ वर्षसम्म २ प्रहरी, पूर्वप्रधानसेनापतिलाई आजीवन ७ जना सेना, पूर्वगृहसचिवलाई २ वर्षसम्म २ प्रहरी, पूर्वरक्षासचिवलाई २ वर्षसम्म एक सेना, प्रहरी र सशस्त्रका पूर्वआईजीपीलाई अवकाश पाएको ४ वर्षसम्म ५ प्रहरी र २ जना आजीवन तथा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुखलाई सशस्त्र प्रहरीका २ जना आजीवन सुरक्षामा खटाउने उल्लेख छ ।

प्रकाशित मिति: Jul 20, 2021

प्रतिक्रिया दिनुहोस्