Logo
१५ बैशाख २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसला नआउँदै राष्ट्रपतिद्वारा पशुपतिमा क्षमा पूजा

पशुपतिनाथमा सुनको नयाँ जलहरी स्थापनासँगै त्यसका लागि भइरहेको क्षमा पूजा आज समापन हुँदैछ । आज क्षमा पूजाको विशेष विधिपूर्वक राष्ट्रपति विद्यादेवी भण्डारीले समापन गर्ने तयारी छ ।

हिजो बेलुका ९ बजेको साइतमा पशुपतिनाथको मूल मूर्ति (शिवलिङ्ग) को फेदमा सुनको नयाँ जलहरी राखिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले जानकारी दिए ।

नयाँ जलहरी राख्ने क्रममा शिवलिङ्गलाई कुनै क्षति नभएको उनको दाबी छ । जलहरी स्थापनाका लागि पशुपतिमा गएको ८ गतेदेखि क्षमा पूजा हुँदै आएको छ ।

आज विशेष पूजाका लागि बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारी पशुपतिमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा चाँदीको जलहरीमाथि सुनको नयाँ जलहरी राखिएको हो ।

१ सय ८ किलोको जलहरी निर्माणका लागि कोषले राष्ट्र बैंकबाट १ सय ४ किलो सुन किनेको हो । बाँकी चार किलो चाँदी तथा तामा मिसाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने निर्णय गरिसकेको छ । कोषका अनुसार जलहरिको लागि १०८ केजी सुन लाग्ने अनुमान छ ।

बसाहा र छानामा समेत गर्दा १४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन छ ।

यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरिरहेका छन् । सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दायर भएको छ ।

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्