Logo
१९ बैशाख २०८१, बुधबार
(January 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व बैंकको पुन: प्रक्षेपण नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्र

विश्व बैंकले नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत मात्र रहने पुनः दोहोर्‍याई प्रक्षेपण गरेको छ ।

कोरोना महामारीबाट प्रभावित चालु आर्थिक वर्ष (२०७७/७८ सन् २०२०/२०२१)मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने विश्व बैंकले पुनः दोहोर्‍याएको छ ।

मंगलबार सन् २०२१ को पहिलो प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो ।

यसअघि विश्व बैंकले गत चैतमा समेत यस आवमा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर कायम हुने दावि बजेटमार्फत गरेको छ ।

विश्व बैंकका अनुसार अघिल्लो आव २०७६/७७ (२०१९/२०२०) मा आर्थिक वृद्धिदर ०.२ प्रतिशत कायम रहने अनुमान गरेको छ । यो आवको आर्थिक वृद्धिदरबारे प्रतिवेदन भने सरकारले सार्वजनिक गरिसकेको छैन ।

विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा यस वर्ष सबैभन्दा गहिरो आर्थिक क्षति भारतले बेहोर्दैछ । यस आवमा भारतको आर्थिक वृद्धिदर ९.६ प्रतिशतले नकारात्मक रहने छ ।

बंगलादेशको आर्थिक वृद्धिसमेत नकारात्मक रहने तथ्यांक विश्व बैंकको छ ।यस वर्ष बंगलादेशको आर्थिक वृद्धिदर (०.७ )प्रतिशत रहने भएको छ ।

चीन भने अघिल्लो वर्ष र यो वर्ष दुबैमा सकारात्मक वृद्धिदर कायम गर्न सफल भएको छ ।चीनले सन् २०२० मा २ प्रतिशत र सन् २०२१ मा ७.९ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

सबैभन्दा उच्च आर्थिक वृद्धिदर भने माल्दिभ्सले हाँसिल गर्नेछ । माल्दिभ्सको ९.५ प्रतिशतको आर्थिक वृद्धिदर रहने भएको छ ।

पर्यटनमा आधारित अर्थतन्त्र रहेको माल्दिभ्सले पर्यटक आगमन खुला गरिसकेको छ । समग्र दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धिदर भने ६.७ प्रतिशत रहने भएको छ ।

यो वर्ष अमेरिकाले ५.४ प्रतिशत नेगेटिभ वृद्धिदर प्राप्त गरेको छ । सन् २०२१ मा भने उक्त मुलुकले ३.३ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने देखिएको छ ।

यूरोपले सन् २०२० मा ३.६ प्रतिशत ऋणात्मक वृद्धिदर प्राप्त गरेकोमा यो वर्ष ३.५ प्रतिशत वृद्धिदर प्राप्त गर्ने भएको छ ।

विश्व अर्थतन्त्रमा भने सन् २०२१ मा ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने विश्व बैंकले जनाएको छ ।

खासगरी कोरोना विरुद्धको खोपले विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने विश्व बैंकको भनाई छ । सन् २०२० मा भने आर्थिक वृद्धिदर ४.३ प्रतिशतले संकुचित बनेको छ ।

प्रकाशित मिति: Jan 6, 2021

प्रतिक्रिया दिनुहोस्