Logo
७ जेष्ठ २०८१, सोमबार
(December 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपतिमा जो बाइडनले पूरा गरे जितको औपचारिकता

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले इलेक्टोरल कलेजको समर्थन पाएलगत्तै अमेरिकी राष्ट्रपतिमा जितका लागि आवश्यकपर्ने औपचारिकता पनि पूरा गरेका छन् ।

सोमबार देशभरका इलेक्टोरल कलेजका सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् । योसँगै अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्न अब बाइडेनलाई सबै ढोका खुलेको छ ।

जितले औपचारिकताको आधिकारिकता पाएसँगै नयाँ वर्षको २० जनवरीबाट विश्वकै शक्तिशाली पद सम्हाल्न जो बाइडन र उनकी उपराष्ट्रपति कमला ह्यारिसलाई बाटो खुलेको हो ।

गत नोभेम्बर ३ मा सम्पन्न अत्यन्तै विवादास्पद निर्वाचनमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेनले ३०६ र उनका रिपब्लिकन प्रतिष्पर्धी एवं वहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।

अमेरिकी निर्वाचन प्रणालीमा प्रत्येक राज्यका मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोलर कलेजका सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपति चुन्न मत दिने गर्दछन् ।

कुनै प्रमाण बिनै लगातार चुनावमा धाँधली भएको आरोप लगाइरहेका ट्रम्पले सम्पूर्ण ढोका बन्द हुँदा पनि हार स्वीकारेका छैन । हुँदा हुँदा उनले इलेक्टोरल कलेजले दिने मतबाट आफू विजयी हुने दाबीसमेत गर्दै आएका थिए ।

अदालतलाई प्रयोग गरेर केही संग्रामीमैदान मानिएका राज्यहरुको चुनावी परिणाम उल्ट्याउने ट्रम्पको प्रयास पनि सर्वोच्च अदालतले मुद्दा नै खारेज गरिदिएकाले सकिएको छ ।

आउँदो २० जनवरी २०२१ को दिन आयोजना गरिने भव्य समारोहसँगै बाइडनको हातमा ह्वाइट हाउसको शक्तिको साँचो पुग्नेछ ।

प्रकाशित मिति: Dec 15, 2020

प्रतिक्रिया दिनुहोस्