Logo
२ जेष्ठ २०८१, बुधबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमायो : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धक व्यक्तित्व गुमाएको बताएका छन् ।

आज दिएको शोक सन्देशमा अध्यक्ष दाहालले नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामा हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहेको स्मरण गरेका छन् । अध्यक्ष दाहालले भनेका छन्, “जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु ।”

अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कमानसिंह लामाको आज ६९ वर्षका उमेरमा निधन भएको छ ।कोरोना भाइरसको सङ्क्रमणबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज बिहान नेता लामाको निधन भएको हो ।

विसं २००८ फागुन ९ गते पिता चन्द्रसिं र आमा मिश्रीमायाका कोखबाट जन्मनुभएका लामा विसं २०३३ मा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए ।

लामा विसं २०३५ मा गठित अखिल नेपाल युवा सङ्घका केन्द्रीय संस्थापक सदस्य भएका थिए । विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका-संसद्को सदस्य बनेका उनले दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका थिए ।

दिवङ्गत लामाका श्रीमती, एक छोरा र चार छोरी रहेका छन् ।

 

 

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्