Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र आलोचना सरकारका लागि मार्गदर्शक हुने : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै ‘लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेसा स्वागत गर्दछ भनेका छन् ।

आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने ओलीको भनाइ छ ।

आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने बताउँदै ओलीले त्यस्ता कार्य दण्डनीय हुने पनि बताएका छन् ।

तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको दाबी गर्दै अब कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी पनि दिएका छन् ।

उनले ‘कोही भोकै पर्दैन र भोकले कोही मर्दैन’ भन्ने प्रतिबद्धता नेपाल सरकारले लिएको र ‘श्रमको सम्मान, राष्ट्रिय अभियान’, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम, उद्यमशीलता विकास गर्न कर्जामा व्याज अनुदान, महिला उद्यमशीलता विकास कार्यक्रमलगायत कार्यक्रम मर्यादित जीवन बाँच्न पाउने हकको कार्यान्वयनका लागि ल्याइएको पनि बताए ।

प्रधानमन्त्री ओलीले समाजका सबै सदस्यको न्यायोचित आकाङ्क्षा सम्बोधन गर्न सक्ने समन्यायमा आधारित सम्मानपूर्ण जीवनयापनको व्यवस्था भएको लोकतन्त्र नै परिपूर्ण लोकतन्त्र भएको र यो राजनीतिक मात्र नभई सामाजिक जीवनका सम्पूर्ण क्षेत्र र पक्ष समेटेको लोकतन्त्र भएको बताए ।

यसै आधारमा सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा तय गरी सबै प्रयास र क्रियाकलाप यसैमा केन्द्रित गरिएको उनले बताए।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्