Logo
१४ मंसिर २०७७, आईतबार
(November 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाले थलिएका क्षेत्रहरुलाई ५० अर्ब बराबरको कर्जा प्रवाह गर्न थालियो, कसरी लिने ?

कोभिड १९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ ।

अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट पारित कार्यविधि अनुसार सहुलियत कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन सरकारले कर्जा प्रवाह गर्नका लागि नेपाल राष्ट्र बैंकमा आवश्यक रकमको व्यवस्था गर्नेछ ।

सरकारले राष्ट्र बैंकबाट सञ्चालन हुने गरी राष्ट्र बैंकको बैङ्किङ्ग कार्यालयमा पचास अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ।जसमा नेपाल सरकारले उपलब्ध गराएको रकम, सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम, विदेशी संघ, संस्थासँग नेपाल सरकारले गरेको सम्झौता बमोजिम प्राप्त हुने रकम जम्मा गरिनेछ ।

यस्तै खातामा मन्त्रालयले पटक पटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्ने, खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैङ्कले नेपाल सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था गरिएको छ ।

कोभिड १९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई सहुलियत कर्जा प्रदान गरिनेछ ।

अति प्रभावित क्षेत्र, मध्यम प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्र गरी कर्जालाई तीन किसिमले वर्गीकरण र सीमा निर्धारण गरिएको छ ।जसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम दश करोड रुपैयाँसम्म रहेको छ ।

यस्तै मध्यम प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम सात करोड रुपैयाँसम्म रहेको छ । न्यून प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम पाँच करोड रुपैयाँसम्म रहेको छ ।

यसरी प्रवाह गरिने गरिने कर्जाको पचास प्रतिशत अति प्रभावित क्षेत्रमा, तीस प्रतिशत मध्यम प्रभावित क्षेत्रमा र वीस प्रतिशत न्यून प्रभावित क्षेत्रमा प्रवाह गरिने पनि कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधि अनुसार यसरी प्रवाह गरिने कर्जाको ब्याजदर पहिलो वर्षको लागि पाँच प्रतिशत र दोस्रो वर्षको लागि छ प्रतिशत कायम गरिएको छ । यस्तै कर्वा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई पहिलो वर्ष दुई प्रतिशत र दोस्रो वर्ष तीन प्रतिशत ब्याजदरमा खाताबाट रकम उपलब्ध गराइनेछ। यस खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाबाट लिने रकमको लागि त्यस्तो संस्थालाई बढीमा पाँच प्रतिशत ब्याज उपलब्ध गराइनेछ।यस्तो खाताबाट प्रदान गरिने भुक्तानी अवधि बढीमा २ वर्षको हुनेछ।

कार्यविधि अनुसार व्यवसाय कोभिड १९ बाट प्रभावित भएको, सरकारको कुनै निकायमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको र नियमित नवीकरण भएको, श्रमिक वा कर्मचारी संख्या न्यूनतम पाँच जना भएको, श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६/०७७ को श्रावणदेखि फागुन मसान्तसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको र प्रचलित कानून बमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेकालाई कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ।

सरकारी निकाय, बैङ्क तथा वित्तीय संस्थाहरु र दातृ निकायबाट सहुलियत ब्याजदरमा कर्जा वा सहायता उपभोग गरिरहेका ऋणीहरु यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाका लागि योग्य नहुने प्रावधान छ ।

कोभिड १९ बाट उद्योग वा व्यवसायमा परेको प्रभाव मूल्याङ्कन गरी समस्यामा परेका ऋणीको व्यवसायिक आवश्यकता तथा व्यवसायलाई निरन्तरता दिन पूँजीको अभाव, श्रमिक वा कर्मचारीको रोजगारीको निरन्तरता, भविष्यको सञ्चालन सम्भाव्यता, कर्जा फिर्ता गर्न सक्ने व्यावसायिक योजना समेतको आधारमा बैंक तथा वित्तीय प्राथमिकता निर्धारण गर्नु पर्नेछ ।

व्यवसायीले कर्जाको लागि पेश गरेको निवेदन, पारिश्रमिक रकम प्रमाणित हुने लेखापरीक्षण गरिएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर दाखिला प्रमाणपत्र, ऋणीले अन्य इजाजतपत्र प्राप्त संस्थाबाट यस्तो सुविधा नलिएको स्वघोषणा लगायत हेरी इजाजतपत्र प्राप्त संस्थाले व्यवसायीलाई कर्जा उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ ।

इजाजतपत्र प्राप्त संस्थाले निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदनको मूल्याङ्कन गरी कर्जा प्रवाह गरिसक्नु पर्नेछ। कर्जा अस्वीकृत भएमा सोको कारण खुलाई सोही अवधिभित्र निवेदकलाई लिखित जानकारी दिनु पर्नेछ ।

सम्बन्धित व्यवसायीको आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नहुने, कर्जा लिन इच्छुक व्यवसायीले तोकिएको समयभित्र कर्जाका लागि निवेदन दिने, कर्मचारी वा श्रमिकको तलब भत्ता भुक्तानी र व्यवसायको निरन्तरताका लागि बाहेक बोनस, इन्सेन्टिभ, बिदाको रकम भुक्तानी तथा अन्य कर्जाको व्याज तिर्ने प्रयोजनमा यस कर्जाको रकम खर्च गर्ने व्यवसायीको दायित्व हुनेछ ।

व्यावसायिक निरन्तरता कर्जा प्रवाहको लागि खाता सञ्चालन गर्ने, इजाजतपत्र प्राप्त संस्थाबाट प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना माग भई आएमा खाताबाट शोधभर्ना रकम उपलब्ध गराउने, प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना रकमको विवरण मन्त्रालयलाई मासिक रुपमा उपलब्ध गराउने, कार्यविधिको प्रभावकारी कार्यान्वयनको लागि इजाजतपत्र प्राप्त संस्थाको आवश्यक अनुगमन, नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने काम राष्ट्र बैंकको काम, कर्तव्य तथा अधिकार हुनेछ ।

त्यसैगरी कर्जाको सदुपयोग भएको नपाइएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम कारबाही गर्ने शोधभर्ना बापतको रकम इजाजतपत्र प्राप्त संस्थालाई भुक्तानी दिन इन्कार गर्ने, शोधभर्ना रकम प्राप्तब गर्ने बैंक तथा वित्तीय संस्थाबाट अवधि समाप्तज भएपछि शोधभर्ना रकम (साँवा तथा व्याज) फिर्ता भुक्तानी लिनेछ । व्यवसायीले यस कार्यविधि बमोजिम प्राप्त गरेको कर्जा सुविधा दुरुपयोग गरेको पाइएमा राष्ट्र बैंकले त्यस्तो व्यवसायीलाई सबै प्रकारको बैङ्किङ सुविधाबाट बञ्चित गराउन वा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउन सक्नेछ।

कर्जा प्रवाहलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अर्थ मन्त्रालयका सचिवको अध्यक्षतामा महालेखा नियन्त्रक, राष्ट्र बैंकका डेपुटी गभर्नर, राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभाग, नेपाल बैङ्कर्स एसोसिएसनका अध्यक्ष र अर्थ मन्त्रालयका (वित्तीय क्षेत्र हेर्ने) सहसचिव सदस्य सचिव रहने गरी सञ्चालक समिति हुनेछ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट बक्तव्यमा उल्लेख भए बमोजिम व्यावसाय निरन्तरताका लागि सहुलियत कर्जा प्रदान गर्न यो कार्यविधि तर्जुमा गरी लागू गरिएको हो ।

….

व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७

 

कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनमा निरन्तरताको लागि सहज रुपमा व्यवस्थित र प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन वाञ्छनीय भएकोले,

 

विनियोजन ऐन, २०७७ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको कार्यविधि बनाएको छ।

 

  1. संक्षिप्त नाम प्रारम्भः (१) यस कार्यविधिको नाम “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” रहेको छ।

(२) यो कार्यविधि नेपाल सरकारबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ।

 

  1. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा,-
  • “इजाजतपत्र प्राप्त संस्था” भन्नाले बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गको बैङ्क तथा वित्तीय संस्था सम्झनुपर्छ।
  • “कर्जा” भन्नाले इजाजतपत्र प्राप्त संस्थाले ब्यावसायिक निरन्तरताको लागि योग्य ब्यवसायीलाई प्रदान गर्ने कर्जा सम्झनुपर्छ।
  • “खाता” भन्नाले दफा ३ बमोजिम व्यावसायिक निरन्तरता कर्जा प्रवाहका लागि खोलिएको खाता सम्झनु पर्छ।
  • “मन्त्रालय” भन्नाले नेपाल सरकार, अर्थ मन्त्रालय सम्झनु पर्छ।
  • “राष्ट्र बैङ्क” भन्नाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम स्थापना भएको नेपाल राष्ट्र बैङ्क सम्झनु पर्छ।
  • “शोधभर्ना रकम” भन्नाले इजाजतपत्र प्राप्त संस्थालाई यस कार्यविधि बमोजिम प्रदान गर्ने रकम सम्झनुपर्छ।
  • “समिति” भन्नाले दफा ४ को उपदफा (१) बमोजिमको सञ्चालक समिति सम्झनुपर्छ।

 

  1. कर्जा प्रवाहको लागि आवश्यक रकमको व्यवस्थाः (१) कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम तथा पयर्टन व्यवसायमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसाय सञ्चालनका लागि अल्पकालीन कर्जा उपलब्ध गराई व्यवसायको निरन्तरता दिन नेपाल सरकारले प्रवाह गर्ने कर्जाका लागि राष्ट्र बैङ्कमा आवश्यक रकमको ब्यवस्था गरिनेछ ।

            (२) उपदफा (१) बमोजिम रकमको ब्यवस्थाका लागि नेपाल सरकारले राष्ट्र बैङ्कबाट सञ्चालन हुने गरी राष्ट्र बैङ्कको बैङ्किङ्ग कार्यालयमा पचास अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ।

                                (३) उपदफा (२) बमोजिमको खातामा देहाय बमोजिमको रकम जम्मा गरिनेछः-

(क) नेपाल सरकारले उपलब्ध गराएको रकम,

(ख) नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा जम्मा हुने रकम,

(ग)  विदेशी संघ, संस्थासँग नेपाल सरकारले गरेको सम्झौता बमोजिम प्राप्त हुने रकम,

(४) यस कार्यविधि बमोजिम उपलब्ध गराईने शोधभर्ना रकम उपदफा (२) बमोजिमको खाताबाट उपलब्ध गराईनेछ ।

            (५) उपदफा (२) बमोजिमको खातामा मन्त्रालयले पटक पटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्नेछ।

(६) खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैङ्कले नेपाल सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्नेछ।

 

  1. सञ्चालक समितिः (१) कर्जा प्रवाहलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न देहाय बमोजिम व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समिति रहनेछ:-

(क)   सचिव, मन्त्रालय                                                                   अध्यक्ष

(ख)   महालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय          सदस्य

(ग)   डेपुटी गभर्नर, राष्ट्र बैङ्क                             सदस्य

(घ)   कार्यकारी निर्देशक, राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्था

      नियमन विभाग                                    सदस्य

(ङ)   अध्यक्ष, नेपाल बैङ्कर्स एसोसिएसन                       सदस्य

(च)   सहसचिव, मन्त्रालय (वित्तीय क्षेत्र हेर्ने)                                      सदस्य-सचिव

(२) सञ्चालक समितिले आवश्यकता अनुसार समितिको कुनै एक सदस्यको संयोजकत्वमा उपसमिति गठन गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिमको उपसमितिमा विषयगत क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिलाई समेत आमन्त्रण गर्न सकिनेछ ।

(४) समितिले बैठक सम्बन्धी कार्यविधि आफैँले निर्धारण गर्न सक्नेछ।

(५) समितिको काम, कर्तव्य तथा अधिकार देहाय बमोजिम हुनेछ:-

(क)   खाताबाट उपलब्ध गराइने कर्जा तथा सोको असुली एवं व्यवस्थापनका सम्बन्धमा नीतिगत निर्णय गर्ने,

(ख)   खाता सञ्चालनको हिसाब किताब, खाता, बही, श्रेस्ता र लेखाको अभिलेख यथार्थ र दुरुस्त राख्न लगाउने र लेखापरीक्षण गराउने,

(ग)   खाता सञ्चालन सम्बन्धमा अन्य आवश्यक कार्य गर्ने।

 

  1. कर्जा प्रवाहको क्षेत्र: इजाजतपत्र प्राप्त संस्थामार्फत् प्रवाह हुने कर्जा कोभिड-१९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जाको अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायलाई प्रदान गरिनेछ।

 

  1. कर्जाको वर्गीकरण र सीमाः (१) इजाजतपत्र प्राप्त संस्थामार्फत प्रदान गरिने कर्जालाई देहाय बमोजिम वर्गीकरण गरी सीमा निर्धारण गरिएको छः-
(क) अति प्रभावित क्षेत्रः श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम दश करोड रुपैयाँसम्म।
(ख) मध्यम प्रभावित क्षेत्रः श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम सात करोड रुपैयाँसम्म।
(ग) न्यून प्रभावित क्षेत्रः श्रमिक र कर्मचारीहरुको वार्षिक पारिश्रमिक तथा सोको पचास प्रतिशत थप (व्यवसाय निरन्तरताको लागि) गरी कुल रकम वा अधिकतम पाँच करोड रुपैयाँसम्म।

(२) उपदफा (१) को खण्ड (क), (ख) र (ग) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस कार्यविधि बमोजिम प्रवाह गरिने कर्जाको पचास प्रतिशत अति प्रभावित क्षेत्रमा, तीस प्रतिशत मध्यम प्रभावित क्षेत्रमा र वीस प्रतिशत न्यून प्रभावित क्षेत्रमा प्रवाह गरिनेछ ।

 (३)  अति, मध्यम तथा न्यून प्रभावित क्षेत्र अनुसूची-१ मा तोकिए बमोजिम हुनेछ।

 

  1. ब्याजदरः (१) यस कार्यविधि बमोजिमको कर्जा प्राप्त गर्न योग्य व्यवसायीलाई इजाजतपत्र प्राप्त संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर पहिलो वर्षको लागि पाँच प्रतिशत र दोस्रो वर्षको लागि छ प्रतिशत हुनेछ।

(२) इजाजतपत्र प्राप्त संस्थालाई पहिलो वर्ष दुई प्रतिशत र दोस्रो वर्ष तीन प्रतिशत ब्याजदरमा खाताबाट रकम उपलब्ध गराइनेछ।

(३) दफा ३ को उपदफा (३) को खण्ड (ख) बमोजिम नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाबाट लिने रकमको लागि त्यस्तो संस्थालाई बढीमा पाँच प्रतिशत ब्याज उपलब्ध गराइनेछ।

 

  1. शोधभर्ना रकमको अवधिः (१) यस कार्यविधि बमोजिम प्रदान गरिने शोधभर्ना रकमको अवधि बढीमा दुई वर्षको हुनेछ र सोही बमोजिम इजाजतपत्र प्राप्त संस्थाले प्रदान गर्ने कर्जाको अवधि समेत बढीमा दुई वर्षको हुनेछ।

(२) उपदफा (१) बमोजिमको अवधि भुक्तान भएपछि कर्जा सदुपयोगको सुनिश्चितता गरी इजाजतपत्र प्राप्त संस्थाले ब्यवसायीलाई थप दुई वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ। त्यस्तो कर्जाको व्याज निर्धारण गर्दा इजाजतपत्र प्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा दुई प्रतिशत प्रिमियम थप गरी व्याजदर निर्धारण गर्नु पर्नेछ।

(३) इजाजतपत्र प्राप्त संस्थाले राष्ट्र बैङ्कसँगको तमसुकमा उल्लिखित भुक्तानी अवधिमा शोधभर्ना रकम खातामा जम्मा गर्नु पर्नेछ।

 

  1. व्यवसायीको योग्यता: इजाजतपत्र प्राप्त संस्थाले देहाय बमोजिमको योग्यता पूरा गरेको उद्योग तथा व्यवसायीलाई यस कार्यविधि बमोजिमको कर्जा प्रवाह गर्न सक्नेछः-

(क)   व्यवसाय कोभिड-१९ बाट प्रभावित भएको,

(ख)      नेपाल सरकारको कुनै निकायमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको र नियमित नवीकरण भएको,

(ग)       श्रमिक वा कर्मचारी संख्या न्यूनतम पाँच जना भएको,

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि श्रमिक तथा कर्मचारी संख्या भन्नाले स्थायी, अस्थायी, करार, दैनिक ज्यालादारी तथा आउटसोर्सिङ्ग गरिएका समेतको संख्यालाई जनाउँछ।

(घ)       खण्ड (ग) बमोजिमका श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६/०७७ को श्रावणदेखि फागुन मसान्तसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको र प्रचलित कानून बमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेको,

(ङ)       व्यवसायीले कर्जा प्राप्त गर्न पेश गरेको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको र आन्तरिक राजस्व कार्यालयमा पेश गरेको वित्तीय विवरणसँग भिडान भएको तथा करचुक्ता प्रमाणपत्र लिएको,

      तर प्रचलित कानून बमोजिम लेखापरीक्षण गर्नु नपर्ने साना ब्यवसायीहरुको हकमा आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण तथा करचुक्ता प्रमाणपत्र लिएको हुनु पर्नेछ ।

 (च)   श्रमिक वा कर्मचारीको तलब बैङ्क खातामा जम्मा गरी भुक्तानी दिने गरेको।

 

  1. व्यवसायीको अयोग्यता: सरकारी निकाय, बैङ्क तथा वित्तीय संस्थाहरु र दातृ निकायबाट सहुलियत ब्याजदरमा कर्जा वा सहायता उपभोग गरिरहेका ऋणीहरु यो कार्यविधि बमोजिम प्रदान गरिने कर्जाका लागि योग्य हुने छैनन्।

 

  1. कर्जाको प्राथमिकता: इजाजतपत्र प्राप्त संस्थाले कोभिड-१९ बाट उद्योग वा व्यवसायमा परेको प्रभाव मूल्याङ्कन गरी समस्यामा परेका ऋणीको व्यवसायिक आवश्यकता तथा व्यवसायलाई निरन्तरता दिन पूँजीको अभाव, श्रमिक वा कर्मचारीको रोजगारीको निरन्तरता, भविष्यको सञ्चालन सम्भाव्यता, कर्जा फिर्ता गर्न सक्ने व्यावसायिक योजना समेतको आधारमा प्राथमिकता निर्धारण गर्नु पर्नेछ।

 

  1. कर्जा प्रदान गर्ने प्रक्रिया: (१) इजाजतपत्र प्राप्त संस्थाले दफा ११ बमोजिम प्राथमिकता निर्धारण गरी समस्यामा परेका व्यवसायीलाई यस कार्यविधि बमोजिमको कर्जा प्रवाह गरी राष्ट्र बैङ्क समक्ष शोधभर्ना रकम माग गर्नु पर्नेछ।

(२) इजाजतपत्र प्राप्त संस्थाले देहायका विवरण जाँचबुझ गरी व्यवसायीलाई कर्जा उपलब्ध गराउनु पर्नेछः-

(क)   व्यवसायीले कर्जाको लागि पेश गरेको निवेदन,

(ख)   पारिश्रमिक रकम प्रमाणित हुने लेखापरीक्षण गरिएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण,

(ग)   पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर दाखिला प्रमाणपत्र,

(घ)   ग्राहक ऋणीले अन्य इजाजतपत्र प्राप्त संस्थाबाट यस्तो सुविधा नलिएको स्वघोषणा।

(३) ब्यवसायीले कर्जाका लागि विद्युतीय माध्यमबाट समेत आवेदन दिन सकिने ब्यवस्था इजाजतपत्र प्राप्त संस्थाले मिलाउनु पर्नेछ ।

(४) इजाजतपत्र प्राप्त संस्थाले निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदनको मूल्याङ्कन गरी कर्जा प्रवाह गरिसक्नु पर्नेछ। कर्जा अस्वीकृत भएमा सोको कारण खुलाई सोही अवधिभित्र निवेदकलाई लिखित जानकारी दिनु पर्नेछ।

(५) इजाजतपत्र प्राप्त संस्थाले कर्जाको सीमा निर्धारण गर्दा पछिल्लो तीन महिनाको पारिश्रमिक रकम र व्यवसाय निरन्तरता दिन आवश्यक पर्ने अनुमानित रकमको आधारमा निर्धारण गर्नु पर्नेछ।

तर यसरी सीमा निर्धारण गर्दा दफा ६ को सीमा भन्दा बढी हुने गरी निर्धारण गर्न पाइने छैन।

(६) उपदफा (५) बमोजिम पारिश्रमिक गणना गर्दा उपदफा (२) को खण्ड (ख) र (ग) को विवरणको आधारमा गर्नु पर्नेछ।

(७) व्यवसायीसँगको कर्जा जोखिम बहन गर्ने जिम्मेवारी इजाजतपत्र प्राप्‍त संस्थाको हुनेछ। कर्जा प्रदान गर्ने इजाजतपत्र प्राप्‍त संस्थाले नै कर्जा सुरक्षणको व्यवस्था गर्नुपर्नेछ। कर्जा प्रदान गर्दा सेवा शुल्क बापत कुनै रकम लिन पाइने छैन।

 

  1. कर्जाको धितो: कर्जा प्रदान गर्ने इजाजतपत्र प्राप्त संस्थाले कर्जा प्रदान गर्दा कर्जा लिने व्यवसायीको सम्पत्ति वा परियोजना धितोको रुपमा लिन सक्नेछ।

 

  1. शोधभर्ना रकम प्रदान गर्ने प्रक्रियाः (१) इजाजतपत्र प्राप्त संस्थाले आफूले प्रवाह गरेको कर्जाको देहायको विवरणसहित अनुसूची-२ को ढाँचामा राष्ट्र बैङ्क समक्ष त्रैमासिक रुपमा शोधभर्नाको लागि निवेदन पेश गर्नु पर्नेछः-

(क)   कर्जाको उद्देश्य,

(ख)   कर्जा प्रवाह मिति र कर्जा भुक्तान मिति,

(ग)   कर्जाको ब्याजदर,

(घ)   ऋणी व्यवसायी कुन वर्गको प्रभावित हो सो क्षेत्र।

(२) उपदफा (१) बमोजिम शोधभर्नाको लागि निवेदन पेश गरेको पन्ध्र दिनभित्र राष्ट्र बैङ्कले दफा ३ बमोजिमको खाताबाट एकमुष्ट रुपमा शोधभर्ना रकम प्रदान गर्नेछ।

(३) उपदफा (१) बमोजिम शोधभर्ना रकम माग गर्दा पेश गरिएको ग्राहक ब्यवसायीको व्यवसाय, परियोजना, कारोबार, वित्तीय विवरण लगायतका विषय विश्लेषणबाट कर्जा प्रदान गर्न उपयुक्त नदेखिएमा राष्ट्र बैङ्कले आंशिक वा पूर्णरूपमा शोधभर्ना प्रदान गर्न इन्कार गर्न सक्नेछ।

(४) कर्जाका लागि पेश हुन आएका निवेदनहरू प्रचलित कानून, राष्ट्र बैङ्कको निर्देशन र संस्थाको कर्जा नीति एवं मार्गदर्शनको परिधिभित्र रहेको सुनिश्चित गरी कर्जा प्रदान गर्ने कर्तव्य सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाको हुनेछ।

 

  1. कर्जा चुक्ता गर्नेः (१) यस कार्यविधिको अधीनमा रही व्यवसायीले कर्जा चुक्ता गर्ने अवधि तमसुकमा उल्लेख भए बमोजिम हुनेछ।

तर व्यवसायीले चाहेमा सो भुक्तानी अवधिभन्दा अघि कर्जा रकम चुक्ता गर्न सक्नेछ।

(२) सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले शोधभर्ना लिएको रकम तमसुकमा तोकिएको मितिमा राष्ट्र बैङ्कलाई भुक्तानी गर्नु पर्नेछ। शोधभर्ना रकमको तमसुकको ढाँचा अनुसूची-३ बमोजिम हुनेछ।

            (३) इजाजतपत्र प्राप्त संस्थामा रहेको कर्जा स्थानान्तरण (एसडब्लुएपी-स्वाप) गरी यो वर्गको कर्जामा लैजान पाइने छैन।

 

  1. कर्जाको अनुगमन तथा निरीक्षणः (१) यस कार्यविधि बमोजिम प्रदान भएको कर्जाको अनुगमन वा निरीक्षण इजाजतपत्र प्राप्त संस्था स्वयंले गर्नु पर्नेछ।

(२) राष्ट्र बैङ्कले समय समयमा सुपरीवेक्षणको माध्यमबाट अनुगमन वा निरीक्षण गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिमको अनुगमनबाट कर्जा प्रवाहको उद्देश्य पूरा हुने गरी श्रमिक, कर्मचारीको पारिश्रमिक वा तलब समयमै भुक्तान भए, नभएको तथा व्यवसाय सञ्चालनमा आए, नआएको यकिन गरी इजाजतपत्र प्राप्त संस्थाले प्रत्येक छ महिनामा राष्ट्र बैङ्कको सम्बन्धित सुपरिवेक्षण विभाग तथा बैङ्क तथा वित्तीय संस्था नियमन विभागमा अनुगमन प्रतिवेदन पेश गर्नु पर्नेछ।

(४) राष्ट्र बैङ्कले आवश्यक देखेमा यस कार्यविधिको कार्यान्वयन सम्बन्धमा इजाजतपत्र प्राप्त संस्थाको कामकारबाहीको स्वतन्त्र लेखापरीक्षण गराउन सक्नेछ। यस्तो लेखापरीक्षणको सम्पूर्ण खर्च सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले व्यहोर्नु पर्नेछ।

 

  1. इजाजतपत्र प्राप्त संस्थाको जिम्मेवारीः यस कार्यविधि बमोजिम प्रवाह हुने कर्जाको सम्बन्धमा सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाको जिम्मेवारी देहाय बमोजिम हुनेछः-
    • कर्जाको लागि ऋणीलाई कर्जा सुविधाका बारेमा पर्याप्त जानकारी गराउने,
    • कर्जा प्राप्त गरेपश्चात् ऋणीले श्रमिक वा कर्मचारीको पारिश्रमिक वा तलब बैङ्क खाताबाटै भुक्तानी गरेको सुनिश्चित गर्ने,
    • शोधभर्ना रकम प्राप्त गरेका इजाजतपत्र प्राप्त संस्थाले अनुसूची-४ मा उल्लिखित ढाँचा बमोजिमको मासिक विवरण महिना समाप्त भएको पन्ध्र दिनभित्र राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागमा पेश गर्ने,
    • कर्जाको समुचित सुरक्षण गर्ने।

 

  1. व्यवसायीको दायित्व: यस कार्यविधि बमोजिम प्राप्त गर्ने कर्जाको सम्बन्धमा सम्बन्धित व्यवसायीको जिम्मेवारी देहाय बमोजिम हुनेछः-
    • आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नहुने,
    • कर्जा लिन इच्छुक व्यवसायीले तोकिएको समयभित्र कर्जाका लागि निवेदन दिने,
    • कर्मचारी वा श्रमिकको तलब भत्ता भुक्तानी र व्यवसायको निरन्तरताका लागि बाहेक बोनस, इन्सेन्टिभ, बिदाको रकम भुक्तानी तथा अन्य कर्जाको व्याज तिर्ने प्रयोजनमा यस कर्जाको रकम खर्च गर्न नहुने।

 

  1. राष्ट्र बैङ्कको काम, कर्तब्य तथा अधिकारः (१) यस कार्यविधिको कार्यान्वयन गर्ने सम्बन्धमा राष्ट्र बैङ्कको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
    • व्यावसायिक निरन्तरता कर्जा प्रवाहको लागि खाता सञ्चालन गर्ने,
    • इजाजतपत्र प्राप्त संस्थाबाट प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना माग भई आएमा खाताबाट शोधभर्ना रकम उपलब्ध गराउने,
    • यस कार्यविधि बमोजिम प्रवाह भएको व्यवसाय निरन्तरता कर्जाको शोधभर्ना रकमको विवरण मन्त्रालयलाई मासिक रुपमा उपलब्ध गराउने,
    • यो कार्यविधिको प्रभावकारी कार्यान्वयनको लागि इजाजतपत्र प्राप्त संस्थाको आवश्यक अनुगमन, नियमन, निरीक्षण तथा सुपरीवेक्षण गर्ने,
    • कर्जाको सदुपयोग भएको नपाइएमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ बमोजिम कारबाही गर्ने शोधभर्ना बापतको रकम इजाजतपत्र प्राप्त संस्थालाई भुक्तानी दिन इन्कार गर्ने,
    • शोधभर्ना रकम प्राप्‍त गर्ने बैङ्क तथा वित्तीय संस्थाबाट अवधि समाप्‍त भएपछि शोधभर्ना रकम (साँवा तथा व्याज) फिर्ता भुक्तानी लिने।

(२) व्यवसायीले यस कार्यविधि बमोजिम प्राप्त गरेको कर्जा सुविधा दुरुपयोग गरेको पाइएमा राष्ट्र बैङ्कले त्यस्तो व्यवसायीलाई सबै प्रकारको बैङ्किङ सुविधाबाट बञ्चित गराउन वा कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा लेखी पठाउन सक्नेछ।

 

  1. बाधा अड्काउ फुकाउने: यस कार्यविधि अनुसार कार्यसम्पादन गर्दा कुनै बाधा अड्काउ आएमा राष्ट्र बैङ्कको सिफारिसमा मन्त्रालयले त्यस्तो बाधा अड्काउ फुकाउन सक्नेछ।

 

***

 

अनुसूची-१

(दफा ६ को उपदफा (३) सँग सम्बन्धित)

 

अति, मध्यम तथा न्यून प्रभावित क्षेत्रहरु

 

(अ)   अति प्रभावित क्षेत्रः

  • पर्यटनः
    • ट्रेकिङ्ग, ट्राभल एजेन्सी, पर्वतारोहण, र्‍याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
    • होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
    • साहसिक पर्यटन: स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्‍याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोइङ, प्यारासेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन लगायत,
    • गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार।
  • हवाई तथा पर्यटकीय यातायात;
  • मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस;
  • चलचित्र उत्पादन, वितरण, सिनेमा हल;
  • स्वदेशमा वा विदेशमा रोजगारी गुमेका वा लेअफमा परेका श्रमिक, कामदार वा कर्मचारी;
  • मूलभूत रुपमा सडेर गलेर जाने वस्तु (पेरिसेवल गुड्स) जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दूध तथा दूधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण;
  • कुखुरापालन व्यवसाय;
  • पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय;
  • तयारी पोशाक, हस्तकला तथा सीपमूलक व्यवसाय;
  • वैदेशिक रोजगार सेवाप्रदायक, शैक्षिक परामर्श सेवाप्रदायक।

 

(आ)  मध्यम प्रभावित क्षेत्रः

  • खप्ने सामान जस्तै- प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय;
  • निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्वविद्यालय, प्राविधिक शिक्षालय, प्रि-स्कूल, चाइल्ड केयर;
  • यात्रुवाहक स्थल यातायात;
  • ब्युटीपार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप;
  • कानूनी, लेखा, इन्जिनियरिङ्ग लगायतका परामर्श सेवा वा व्यवसाय;
  • अस्पताल, क्लिनिक, नर्सिङ्गहोम, डायग्नोस्टिक सेन्टर;
  • हेल्थ सेन्टर वा फिट्नेस सेन्टर;
  • भण्डारण गर्न सकिने वस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण;
  • वन तथा खनिजजन्य उद्योग;
  • निर्माण व्यवसाय;
  • औषधि उत्पादन;
  • छपाइ, प्रकाशन तथा सञ्चार गृह;
  • निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा;
  • पत्थर, माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय।

 

(इ)   न्यून प्रभावित क्षेत्रः

  • उत्पादनमा रही राष्ट्रिय प्रसारणमा जोडिएका जलविद्युत आयोजना;
  • अनलाईन (इ-कमर्स) मा संलग्न व्यवसाय;
  • खाद्यान्न उत्पादन, प्रशोधन, भण्डारण तथा बिक्री वितरण, पेय पदार्थ प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योग व्यवसाय;
  • दैनिक उपभोग्य अत्यावश्यक वस्तुको बिक्री वितरण;
  • आयातजन्य व्यापार;
  • पेट्रोल पम्प, ग्यास तथा पानी सम्बन्धित व्यवसाय;
  • औषधि बिक्री वितरण;
  • विज्ञापन सेवा;
  • इन्टरनेट, दूरसञ्चार सेवाप्रदायक कम्पनी;
  • मदिरा तथा सुर्तीजन्य उद्योग व्यापार, व्यवसाय;
  • ट्रक, ढुवानी व्यवसाय;
  • सुन, चाँदीका गहना तथा बहुमूल्य पत्थर सम्बन्धी व्यवसाय।

 

अनुसूची-२

(दफा १४ को उपदफा (१) सँग सम्बन्धित

 

कर्जाको शोधभर्नाको लागि राष्ट्र बैङ्कमा पेश गर्ने कर्जाको ऋणीहरुको विवरण पेश गर्ने ढाँचा

 

मितिः २०७…. / …… / …….

श्री नेपाल राष्ट्र बैङ्क,

बैङ्क तथा वित्तीय संस्था नियमन विभाग,                          

बालुवाटार, काठमाडौं।

 

विषय: शोधभर्ना उपलब्ध गराई पाउँ

 

महाशय,

“ व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम प्रवाह भएको देहाय बमोजिमको कर्जाको कुल रु. …………………… शोधभर्ना उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछु।

कर्जाको विवरण

क्र.सं. ऋणीको नाम व्यवसायको प्रकृति /ठेगाना कर्जा प्रवाह मिति क्षेत्रगत कर्जाको कोड कर्जाको अन्तिम भुक्तानी मिति बाँकी कर्जा (रु) ब्याज दर शोधभर्ना माग रकम कैफियत
(अति अथवा मध्यम प्रभावित उल्लेख गर्ने)
जम्मा

शोधभर्ना पाउनुपर्ने जम्मा रकम रु. ……………… अक्षरेपी ………………………………………………………….

                       

दस्तखतः                           दस्तखतः       

नामः                              नामः          

पदः                                 पदः  

विभाग/कार्यालयः                      विभाग/कार्यालयः

छापः                                                                                      छापः

 

*एकीकृत निर्देशन को फाराम नं.३.१ बमोजिम क्षेत्रगत कोड

 

 

 

अनुसूची-३

(दफा १५ को उपदफा (२) सँग सम्बन्धित)

 

शोधभर्ना रकमको तमसुकको ढाँचा

 

लिखितम् धनीका नाम का.जि. का.म.न.पा. वडा नं. ….. स्थित नेपाल राष्ट्र बैङ्क, बैकिङ्ग कार्यालय आगे ……………………….. जिल्ला ……………………………………… पालिका वडा नं. …….. मा केन्द्रीय कार्यालय रहेको (शोधभर्ना रकम लिने ऋणीको नाम)………………………………………………… बैङ्क/वित्तीय संस्था लिमिटेडलाई नेपाल राष्ट्र बैङ्कले व्यवसाय निरन्तरता शोधभर्ना रकम प्रदान गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ४९ ले गरेको व्यवस्था अन्तर्गत नेपाल राष्ट्र बैङ्कबाट आजका मितिमा रु. …………………. (अक्षरेपी ……………………………………………………………….. मात्र) कर्जा लिएको ठीक साँचो हो। उक्त कर्जा लिएको रकम बापत ऋणीले आफ्नो संलग्न बमोजिमको ग्राहक/ऋणीलाई प्रवाह गरेको कर्जा मध्ये संलग्न विवरण अनुसारको कर्जा र शोधभर्ना बापतको कर्जाको लागि यस बैङ्कलाई लेखिदिएको तमसुक धितो सुरक्षणको रुपमा राखिदिएका छौं। तपसील बमोजिमको धितो सुरक्षणमा राखिएको कर्जाको विवरण तथा शर्तहरू ठीक साँचो हो। यस सम्बन्धमा नेपाल राष्ट्र बैङ्कबाट जारी विद्यमान नीतिगत व्यवस्था तथा नेपाल राष्ट्र बैङ्कले समयसमयमा तोकेको शर्त/मापदण्ड पालना गर्नेछौँ। शर्तहरू पालना नगरेमा उक्त धितो तथा ‍………………………………………….. (इजाजतपत्र प्राप्त संस्थाको नाम) ….. को अन्य चल–अचल सम्पत्ति समेतबाट उक्त रकम असुल गरी लिनु भनी इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिको निर्णय/सहमति समेत रहेकोले नेपाल राष्ट्र बैङ्क, बैङ्किङ कार्यालय/विभाग, बालुवाटार, काठमाडौंमा बसी यो तमसुक लेखी धनी नेपाल राष्ट्र बैङ्कमा चढायौं।

तपसील

क. धितोको विवरण: संलग्न बमोजिम

ख. शर्तहरूः

  1. … … … …………… अवधिका लागि मात्र यो शोधभर्ना रकम प्रदान गरिएको छ।
  2. यस शोधभर्ना बापतको रकम नेपाल राष्ट्र बैङ्कलाई एकमुष्टरुपमा फिर्ता बुझाउनु पर्नेछ।
  3. सम्बन्धित इजाजतपत्र प्राप्त संस्थाले कर्जा प्राप्त गर्ने आफ्ना ग्राहक ऋणीलाई बढीमा ………. प्रतिशतसम्म थप ब्याज कायम गर्नु पर्नेछ। यस्तो ब्याजदर शोधभर्ना रकम बापतको रकम उपयोग भएसम्म कायम हुनेछ।
  4. निर्धारित समयभित्र रकम भुक्तान नगरेमा एक प्रतिशत पेनाल ब्याजदर लाग्नेछ। नेपाल राष्ट्र बैङ्कले ऋणी बैङ्क वा वित्तीय संस्थाको खाता खर्च (Debit) गरी उक्त रकम असुलउपर गर्न सक्नेछ।
  5. रकम प्राप्त गरेका इजाजतपत्र प्राप्त संस्थाहरूले रकम भुक्तानी म्याद समाप्त भएको दिन सो रकम भुक्तानी नगरेमा नेपाल राष्ट्र बैङ्कस्थित सम्बन्धित संस्थाको जुनसुकै खाताबाट खर्च लेखी रकम असुलउपर गरी लिन र सोको खर्च गर्ने अख्तियारी नेपाल राष्ट्र बैङ्कलाई रहनेछ। यसमा पछि कुनै उजुरी वा दाबी लाग्ने छैन।
  6. धितोको रुपमा नेपाल राष्ट्र बैङ्कलाई दिइएको तमसुकमा उल्लिखित कर्जाको जोखिम लगायत सबै जिम्मेवारी ……………………………………. (इजाजतपत्र प्राप्त संस्थाको नाम) ….. कै हुनेछ।
  7. ऋणी ……………………………………. (इजाजतपत्र प्राप्त संस्थाको नाम) ….. ले धितो स्वरुप राखेको तमसुकमा उल्लेख भएको ग्राहकको चल अचल सम्पत्ति र नेपाल राष्ट्र बैङ्कबाट कर्जा लिई लगानी गरेको उद्योग तथा व्यवसाय समेतको नेपाल राष्ट्र बैङ्क वा बैङ्कको प्रतिनिधिले जुनसुकै बखत निरीक्षण गर्दा उपलब्ध गराउनु वा देखाउनु पर्नेछ।
  8. धितो सुरक्षणमा लिइएको सुरक्षणमा पहिलो दाबी (First Charge) नेपाल राष्ट्र बैङ्कको हुनेछ।
  9. कर्जा प्रयोग सम्बन्धमा ऋणीले यसैसाथ संलग्न नीतिगत शर्त तथा मापदण्डहरू पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। सो बमोजिम नगरेमा प्रचलित नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ तथा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार सजाय भएमा मञ्जुरी छ।
  10. यस तमसुकको शर्त र मापदण्डमा आवश्यकता अनुसार नेपाल राष्ट्र बैङ्कले परिमार्जन वा संशोधन गर्न सक्नेछ।

 

नेपाल राष्ट्र बैङ्कको तर्फबाट                                                (इजाजतपत्र प्राप्त संस्थाको नाम) …………….. को तर्फबाट अख्तियार प्राप्त व्यक्ति                                 अख्तियार प्राप्त व्यक्ति

दस्तखत:                               दस्तखत:   

नाम:                                  नाम:

पद:                                   पद: 

छापः                                                                                         छाप:

विभाग/कार्यालय :                         विभाग/कार्यालयः

 

इति सम्वत् ……….. साल ………… महिना ………..गते रोज ……….. शुभम्।

 

धितोको विवरण

 

परियोजना वा ऋणीको नाम धितो सुरक्षणमा राखिएको कर्जा
 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अनुसूची ४

(दफा 1७ को खण्ड (ग) सँग सम्बन्धित)

 

कर्जाको मासिक विवरण पेश गर्ने ढाँचा

मितिः २०७….. / …… / …….

श्री नेपाल राष्ट्र बैङ्क,

बैङ्क तथा वित्तीय संस्था नियमन विभाग,                          

बालुवाटार, काठमाडौं।

 

विषय: कर्जा प्रवाह गरिएको ………………. कर्जाको …….. मासिक विवरण

 

महाशय,

            “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम प्रवाह भएको ………… …………………… कर्जाको त्रैमासिक विवरण देहाय बमोजिम रहेको छ।

 

प्रवाह गरिएको कर्जाको मासिक विवरण

 

क्र.सं. कुल कर्जा प्रवाह कुल ऋणीहरुको संख्या बाँकी कर्जा (रु) यस अवधिमा ऋणीबाट असुल भएको ब्याज रकम (रु) नेपाल राष्ट्र बैङ्कसँग शोधभर्ना प्राप्त रकम कैफियत
जम्मा

 

                  

दस्तखतः                                 दस्तखतः

नामः                                    नामः          

पदः                                     पदः     

विभाग/कार्यालय :                          विभाग/कार्यालयः

छापः                                    छापः

 

 

 

प्रकाशित मिति: Nov 19, 2020

प्रतिक्रिया दिनुहोस्