Logo
१५ बैशाख २०८१, शनिबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशका नेकपा असन्तुष्ट सांसदहरुसँग ओली र दाहाल छलफल गर्दै

मुख्यमन्त्री एवम संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका नेकपा कर्णाली प्रदेशका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्दैछन् ।

अविश्वासको प्रस्ताव यथावत राखेर छलफलका लागि नेतृत्वले काठमाडौं बोलाएका पार्टीका कर्णाली प्रदेशसभाका सांसदहरुसँग आज विवाद समाधानका लागि छलफल हुन लागेको हो ।

मुख्यमन्त्रीसमेत रहेका नेकपा कर्णाली संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने १८ जनामध्ये मुख्य नेताहरु अध्यक्ष ओली र दाहालसँग छलफलका लागि काठमाडौँ आइसकेका छन् ।

केन्द्रबाट ओली र दाहालले मुख्यमन्त्री शाहीसँगै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेताहरुलाई कर्णाली प्रदेशमा उत्पन्न समस्याले आफूहरु गम्भीर भएको भन्दै समस्या समाधानका लागि पार्टी केन्द्रीय कार्यालयमा दुई दिन भित्र उपस्थित हुन निर्देशन दिएका थिए ।

गत निर्धारण गरिएको संसदीय दलको बैठकबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने कसरत गरिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले साथ नदिएपछि बैठक स्थगित भएको थियो ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार मात्रै नभई पार्टीकोसमेत बदनाम हुनेगरी काम गरेको भन्दै उनको विकल्पका लागि अविश्वासको प्रस्ताव दर्ता गरेको असन्तुष्टहरुको दावी छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये एक जनालाई मुख्यमन्त्री शाहीले त्यसैदिन दलको सचेतकमा नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति: Oct 15, 2020

प्रतिक्रिया दिनुहोस्