Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सरकारले विदेशबाट रक्सी ल्याउन दिने

सरकारले तयारी मदिराको निकासी तथा प‌ैठारी खुला गर्ने निर्णय गरेसँगै अचानक आएको यो कदमलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग जोडेर टिकाटिप्पणीहरु भइरहेका छन्।

केही व्यापारिक घरानाको स्वार्थसँग जोडिएका निर्णयले आलोचित बनेका खतिवडा सरकारबाट बाहिरिएसँगै उनले गरेका निर्णयहरु सरकारले लगातार सच्याइरहेको छ। विद्युतीय गाडीमा लगाइएको भन्सार कर घटाइनु ताजा उदाहरण हो। लकडाउन सुरु भएलगत्तै तयारी मदिराको निकासी र पैठारीमा रोक लगाइएको थियो।

चर्चित घराना विशाल ग्रुपकै दबाबमा त्यतिबेला अर्थमन्त्री खतिवडाले उक्त निर्णय लिएको स्रोत बताउँछ। मदिरा आयातमा नाम चलेको विशाल ग्रुपको स्टकमा रहेका मदिरा सकिएपछि उसकै दबाबमा सरकारले पछिल्लो निर्णय लिएको अर्थमन्त्रालय स्रोतको भनाई छ। दसैँ तिहार ताका नेपालमा मदिराको माग ह्वात्तै बढ्ने गर्छ।

तयारी मदिराको आयात निर्यातमा रोक लगाएपछि स्वदेशी मदिरा उत्पादक व्यवसायीहरु मर्कामा परेका थिए। विषेशगरि कच्चा पदार्थ र बजार अभावमा उनीहरुको व्यवसाय संकटमा परिरहेको थियो।

‘किन बन्द गरियो र किन खुला गरियो ? व्यापारिक घरानाको स्वार्थ स्पष्ट छ’, अर्थ मन्त्रालयका एक अधिकारीले भने।

लकडाउन सुरु भएपछि सर्वसाधारको क्रय शक्ति कमजोर भएको भन्दै बिलासी सामानको आयातमा रोक लगाउने निर्णयअनुसार तयारी मदिराको आयात निर्यात बन्द गरिएको त्यतिबेला सरकारले बताएको थियो।

नेपालले गत आर्थिक वर्षमा ८८ करोड ३५ लाख रूपैयाँ बराबरको ४ लाख ९३ लिटर मदिरा आयात गरेको थियो।आर्थिक वर्ष ०७५/७६ मा भने १ अर्ब १४ करोड रूपैयाँको ६ लाख ३९ हजार लिटर मदिरा आयात भएको थियो। मदिरा आयात राजस्वको गतिलो स्रोत मानिन्छ।

प्रकाशित मिति: Oct 12, 2020

प्रतिक्रिया दिनुहोस्