Logo
१५ बैशाख २०८१, शनिबार
(October 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : उफ ! बलात्कार शृंखला, साउन र भदौमा सबैभन्दा बढी

प्रदेश २ मा दैनिक रुपमा हुने गरिएको बलात्कार शृंखलाले उक्त समाजका अन्य कुरालाई समेत ओझेलमा पारिदिएको छ ।

पीडितलाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन नभएसम्म उसले सामाजिक न्यायको अनुभूति पनि गर्न सक्दैन। यस्ता कतिपय घटनालाई परिवार, समाजमै दबाइन्छ, मिलाइन्छ। मुद्दा चलाए पनि फैसला चाँडै हुँदैन। फैसला भएर पीडक जेलमा पुगे पनि पीडितलाई समाजले स्वीकार गर्दैन।’

प्रदेश २ प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा यस प्रदेशका आठ जिल्लामा एक सय ७० वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। त्यस्तै २०७५/०७६ मा दुई सय ९६ र २०७६/०७७ मा दुई सय ८५ वटा बलात्कारका मुद्दा दर्ता भएका छन्।

चालु आव २०७७/०७८ को हालसम्म ७६ वटा बालात्कार मुद्दा दर्ता भएको तथ्यांक प्रहरीसँग छ। त्रिवर्षीय तथ्यांक केलाउँदा सबैभन्दा बढी बलात्कारका घटना साउन र भदौमा भएको देखिन्छ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता कृष्ण प्रसाईले अधिक बलात्कारका घटना चिनजानकै मानिसबाट भएको बताए। सामाजिक सञ्जालको दुरुपयोग हुँदा पनि बालात्कारका घटना बढेको अध्ययनले देखाएको छ।

बलात्कृतमध्ये करिब ६० प्रतिशत २० देखि २५ वर्ष उमेरमुनिका छन्। त्यसमा पनि ११ देखि १५ वर्ष उमेरबीचका धेरै छन्। बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन्

साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन्।

तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने। तिनै छिमेकी दाइ उनका लागि राक्षस बने। आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन्।

यो घटना साउन ४ गते दिउँसो सिरहा नगरपालिका-१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो। खेतबाट आएकी आमा घरभित्रै छोरीलाई रक्ताम्य देखेपछि आत्तिइन्।

छोरी पीडाले सहन नसकेर छटपटाइरहेकी थिइन्। उनी हतारहतार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन्।

त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन्। प्रारम्भिक उपचारकै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरीसमक्ष पीडित बालिकाले घटनाको बयान गरिन्।

लहान अस्पतालमा पर्याप्त उपचार सम्भव नभएपछि बालिकालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो। धरानमा करिब दुई साता उपचारपछि बालिका घर त फर्किन् तर पीडा कम भएन।

नयाँ मान्छे देख्दा डराउने, छिनछिनमा मुर्छा पर्ने, गुप्तांग दुख्नेलगायत समस्या निको नभएपछि परिवारले फेरि उपचारका लागि जिल्ला अस्पताल सिरहा लगे। त्यहाँ करिब एक साता उपचार गरेपछि पनि बालिकाको स्वास्थ्यमा सुधार आएन। उनलाई थप उपचारका लागि काठमाडौं लग्नुपर्ने भयो।

आर्थिक अवस्था कमजोर भएको परिवारका लागि यो सम्भव थिएन। परिवारले उनलाई घरमै राख्योे। विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत २५ वर्ष उमेरमुनिका छन्।

त्यसमा पनि ११ देखि १५ वर्ष उमेरका धेरै छन्। बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन्। घटना प्रहरीमा दर्ता भए पनि आरोपित पक्राउ परेका थिएनन्। पीडित परिवारलाई घटना मिलाउन दबाब आउन थाल्यो।

उपचारको सम्पूर्ण बन्दोबस्ती गर्ने र थप रकम दिने भनेर पीडितलाई बयान फेर्न दाबाब दिइयो। स्थानीय दिलीप सहनीले एम्बुलेन्स खर्चदेखि बाटो खर्चसम्मको बन्दोबस्त मिलाएर भदौ १५ गते थप उपचारका लागि ती बालिकालाई काठमाडौं पठाए।

सहनी भन्छन्, ‘बालिकाको घाउ निको हुँदै गए पनि डराउने, मुर्छा पर्ने समस्या भने कम भएको छैन।’

ओरेक नेपाल सिरहाकी देवकुमारी महरा भन्छिन्, ‘ओरेक नेपाल केन्द्रीय कार्यालयले पीडित बालिकाको सम्पूर्ण उपचारखर्च बेहोर्दैछ। अहिले सेफ हाउसमा सुरक्षित बालिकाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ।

तर मानसिक स्वास्थ्यमा परेको गम्भीर असर अझै हटेको छैन।’ आरोपित किशोरको घरको ढोकामा घटना भएदेखि नै ताला झुन्डिएको छ। आरोपितसहित परिवारका सबै सदस्य फरार छन्।

असोज २ गते कर्जन्हा नगरपालिका–३ मा १९ वर्षीया युवती चिनजानकै पुरुषबाट बलात्कृत भइन्। रातमा सबै सुतिरहेको मौकामा घरमा पसेर छिमेककै २५ वर्षीय युवकले बलात्कार गरे। किशोरी चिच्याउन थालेपछि मुखमा कपडा कोचेर राक्षसी व्यवहार गरियो। आरोपित फरार छन्।

पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा जाहेरी दर्ता गराएको छ। डिएसपी सन्तुलाल जयसवालका अनुसार प्रहरी अनुसन्धान र पीडितको बयानका आधारमा घटना यथार्थ हो। ‘आरोपित फरार छन्,’ डिएसपी जयसवालले भने, ‘खोजतलास जारी छ।’

विवाहित ती युवती माइतमा बसेका बेला बलात्कृत भएकी हुन्। पीडक पक्षले किशोरीका माइती पक्षलाई प्रभावमा पारेर बयान बदल्न दबाब दिइरहेको स्थानीय बताउँछन्।

भदौ १ गते धनुषाधाम–९ सय बिघास्थित दिदीको घरमा बिहे भोज खाएर सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित घर फर्किरहेकी किशोरीलाई सामूहिक बलात्कार गरियो।

आठजना युवकले आफूलाई बन्धक बनाएको र त्यसमध्ये चारजनाले बलात्कार गरेको बयान किशोरीले प्रहरीमा दिएकी छन्।

बालात्कारीले भिडियोसमेत खिचेको र कसैलाई बताए फेसबुकमा सार्वजनिक गरिदिने धम्कीसमेत दिएको पीडितले बताएकी छन्।

प्रहरीले घटनामा संलग्न दुईजनालाई पक्राउ गरे पनि बाँकी फरार छन्। पीडकका अभिभावकले पीडितलाई बयान फेर्न निरन्तर दबाब दिइरहेका छन्।

यस्तै असोज १३ गते राति करिब ८ बजे महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने ३५ वर्षीया महिला वडासचिवबाटै बलात्कृत भइन्। हटियाबाट घर फर्किरहेकी ती महिला मुसहरी टोलकै सडकमा बलात्कृत भएकी थिइन्।

घटनाबारे प्रहरीमा जाहेरी नगर्न दबाबा आए पनि ती पीडितले मानिनन्। राति नै प्रहरीलाई घटनाबारे जानकारी गराउँदै उनी निसाफका लागि अघि बढिन्।

प्रहरीले जाहेरीका आधारमा वडासचिव सोही गाउँका ५१ वर्षीय मिथलेश यादवलाई पक्राउ ग¥यो।

प्रहरीले महिलाको स्वास्थ्य परीक्षण गराएर अनुसन्धान थालेको छ। पीडकविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत महोत्तरीबाट म्याद लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक केदार बस्नेतले बताए।

बलात्कारका परेका उल्लिखित सबै दलित समुदायका हुन्। कमजोर आर्थिक अवस्था भएका उनीहरुको राजनीतिक र सामाजिक हैसियत पनि कमजोर नै छ।

आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमजोर यी पीडितले निसाफका लागि कानुनी पाइला अघि बढाए पनि उनीहरूलाई बयान फेर्न र समाजमै मिल्न दबाब दिने क्रम भने रोकिएको छैन।

यी पीडितलाई परिवार र समाजमा पुनस्र्थापित हुन सजिलो छैन। समाजले पीडितलाई नै दोषी देख्छ। एक दशकयता बलात्कार पीडितका लागि काम गरिरहेकी महिला अधिकारकर्मी देवकुमारी महराका अनुसार बलात्कृत महिलाले चाहेर पनि पीडा भुल्न सक्दैनन्।

प्रहरी र वकिललाई घटनाको बयान दिनुपर्छ। न्यायाधीशलाई त्यसबारे जवाफ दिनुपर्छ। विपक्षी वकिलले सोध्ने ‘असंवेदनशील’ प्रश्नको जवाफ दिँदा पीडितले पटकपटक बलात्कृत भएको महसुस गर्नुपर्छ।

‘मनोपरामर्श वा उपचारपछि पनि पीडितमा घटनाको छाप कुनै न कुनै रूपमा बाँकी नै रहन्छ,’ लैंगिक विज्ञ सुनीलकुमार साह भन्छन्, ‘परिवार, आफन्त र समाजको मायाले मात्र उनीहरूको पीडा कम हुन्छ। तर प्रायः पीडितले समाजको साथ पाउँदैनन् भन्दै मिथिलेश यादवले नागरिक दैनिकमा लेखेका छन ।

प्रकाशित मिति: Oct 4, 2020

प्रतिक्रिया दिनुहोस्