Logo
५ जेष्ठ २०८१, शनिबार
(October 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण नै अहिलेको आवश्यकता : मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण अहिलेको आवश्यकता रहेको औँल्याएका छन् ।

आज महोत्तरीको बर्दिवासमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालय उद्घाटन गर्दै मन्त्री पोखरेलले यस आवश्यकतालाई हृदयङ्ग गरेर सरकारले प्राविधिक र व्यवहारिक शिक्षामा जोड दिएको बताए ।

सरकारले मुलुकका सबै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने उद्घोष गरेअनुरुप हालसम्म ६३७ पालिका (स्थानीय तह) मा प्राविधिक शिक्षाको पठनपाठन थालिएको पोखरेलको भनाइ छ ।

जीवनोपयोगी व्यवहारिक शिक्षा बढाउन अब जडीबुटी, आयुर्वेद, प्राकृतिक चिकित्सा र योगजस्ता विषय समावेश गरिएको मन्त्री पोखरेलले बताउनुभयो । शिक्षाले ज्ञान, सीप दिनसँगै चरित्र निर्माण गर्ने उद्देश्य बोकेको हुनपर्ने पोखरेलको भनाइ छ ।

पछिल्लो समय कोभिड–१९ सङ्क्रमण सन्त्रासले विद्यालय सञ्चालनमा ल्याउने अवस्था नरहेको हुँदा शिक्षकले विद्यार्थीसँग घरघरै सम्पर्क बढाएर वैकल्पिक सिकाइका अभ्यास गराउनुपर्ने पोखरेलले बताए ।

“परिस्थितिवश विद्यालय बन्द हुन सक्छन्, जस्तो कि अहिले बन्द गरिएका छन्”, मन्त्री पोखरेलले भन्नुभयो, “तर, शिक्षा लिने/दिने प्रक्रिया बन्द हुँदैनन्, बन्द गरिनु हुँदैन।” वैकल्पिक सिकाइ पद्धतिभित्र जहाँ जुन विकल्पको सम्भावना छ, त्यहाँ त्यो पद्धति समातेर अघि बढ्नुको अहिले विकल्प नभएको पोखरेलको भनाइ छ ।

बर्दिवासमा स्थापना भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेश नं २ स्तरीय शाखा कार्यालयले यसै शैक्षिकसत्रदेखि नै चारवर्षे ब्याचलर इन होटल मेनेजमेन्टको पठनपाठन र प्रयोगात्मक अभ्यास शुरु गर्ने जनाएको छ ।

यसका लागि कक्षा १२ मा कम्तीमा ‘डि प्लस’ अङ्क ल्याइ उत्तीर्ण गरेका छात्रछात्राले आवेदन गर्नसक्ने प्रतिष्ठानले स्पष्ट पारेको छ ।

यसपालि ८० जना यो लेभलको अध्ययनका लागि छनोट हुने नवस्थापित शाखा कार्यालयका प्रमुख शिवेन्द्र मल्लिकले जानकारी दिए । यसका अतिरिक्त छोटो अवधिका सीपसम्बन्धी तालिम पनि सञ्चालन गरिने प्रतिष्ठान बर्दिवास शाखाले जनाएको छ ।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले पहिलोपटक यसपालि होटल व्यवस्थापनका तालिम र पठनपाठन सञ्चालनका लागि शाखा सञ्चालनमा ल्याएको छ ।

यसपालि प्रदेश नं २ को बर्दिवास, प्रदेश नं १ को बिर्तामोड र पश्चिम नेपालको नेपालगञ्जमा पहिलोपटक शाखा स्थापना गरी सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कार्यकारी निर्देशक दीपककुमार थापाले जानकारी दिए ।

प्रतिष्ठानको शाखा कार्यालय सञ्चालनले अहिले विश्व श्रमबजारमा राम्रो ठाउँ ओगटेको होटल मेनेजमेन्ट विषयको प्रयोगात्मक पठनपाठन र सीप अभिवृद्धिका छोटो अवधिका तालिम आफ्नै ठाउँमा लिन पाइने कुराले महोत्तरी र आसपासका क्षेत्रमा उत्साह छाएको छ ।

प्रकाशित मिति: Oct 3, 2020

प्रतिक्रिया दिनुहोस्