Logo
६ जेष्ठ २०८१, आईतबार
(September 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा बैठक सकियो : चैतमा महाधिवेशन, एमसीसीलाई लागु गराउने

अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा स्थायी समिति बैठक सकिएको छ। बैठकले नेकपाको पहिलो महाधिवेशन चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ।

असार १० गतेदेखि सुरु भएको बैठक बीचबीचमा केही समयका लागि चले पनि असार १८ गतेदेखि पूर्णतयाः अवरुद्ध भएको थियो। स्थायी समिति बैठक समापन भएसँगै नेकपाभित्रको नयाँ एकताको आधार खडा भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी पनि दिएको छ भने अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकारमा पूर्णतः केन्द्रित हुने निर्णय पनि गरेको छ।

स्थायी समिति बैठकको सुरुमा अध्यक्ष तथा प्रधानमन्त्री ‌ओलीले नेकपामा एकताको सुरुवात भएको बताएका थिए। प्रवक्ता श्रेष्ठले अध्यक्ष ओलीलाई उद्धृत गर्दै बैठकपछि भने, ‘नेकपामा एकताको सुरुवात भएको छ। यो प्रस्तावले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने आशा लिएको छु।’

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि सहमतिले पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढ्ने आधार तयार भएको बैठकमा क्रममा बताएका थिए।

बैठकमा अर्का नेता माधव नेपालले पनि नयाँ कार्ययोजनाप्रति सहमति प्रकट गरेका थिए। उनले पार्टीलाई एकताबद्ध अवस्थामा पुर्‍याएकामा अध्यक्षद्वयलाई धन्यवाद दिएका थिए।

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

यसैबीच मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो ।

के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रचण्ड कार्यकारी अध्यक्ष, चैतमा महाधिवेशन
यस्तै, स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् ।

नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने भने सरकार पार्टीको मागर्दशनमा चल्नेछ ।

सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ । बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

 

प्रकाशित मिति: Sep 11, 2020

प्रतिक्रिया दिनुहोस्