Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका युवकको मृत्यु

प्रदेश नं २  रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयले कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेका एक युवकको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।

विजयको पिसाबमा समस्या आएपछि भदौ ४ गते उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज पठाइएकोमा बिहीबार बिहान मृत्यु भएको गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए ।

उनले विजयलाई कुटपिट नगरिएको दाबी गरे । ‘पहिलेदेखि नै किड्नीको समस्या रहेछ । हिरासतमा हुँदा पिसाब फेर्न समस्या भएपछि उनलाई वीरगन्ज पठाइएको हो,’ उनले भने, ‘यहाँ कुनै किसिमको कुटपिट भएको छैन । रोगले नै मृत्यु भएको हो ।’

विजयका पत्नी र सात महिनाकी छोरी छन् । उपचारको क्रममा मृत्यु भएको छ । युवकका बुबाले प्रहरीको कुटाइबाट छोराको मृत्यु भएको आरोप लगाएका छन् ।

प्रहरीको ज्यादतीले मेरो छोराको ज्यान गयो,’ बुवा पनिलाल महराले भने, ‘पक्रेको दिनदेखि छोरालाई भेट्न पाइएन । अस्पताल भर्ना गरेको खबर पाएर जाँदा पनि प्रहरीले भेट्न दिएन । छोरामा रोग थिएन । अहिले कुटेरै मार्‍यो ।’

’विजयको पिसाब र दिसामा समस्या देखिएपछि गरुडास्थित अनमिका अस्पताल लगिएको प्रहरीले जनाएको छ । तर, त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले बाहिर लैजान सुझाव दिएका थिए । अनमिकाका चिकित्सक आरबीप्रसादका अनुसार विजयको दिसा–पिसाबबाट रगत बगेको पाइएको थियो । ‘हेमोग्लोबिनको मात्रा पनि कम हुँदै गएको थियो । पिसाबमा रगत जमेको पाइयो,’ उनले भने, ‘विजयलाई कतै केही समस्या छ भनेर सोधेका थियौं । उनले पिसाब गर्दा रगत बग्यो भने । त्यसै बेला उनलाई बाहिर लैजान प्रहरीलाई सुझाव दियौं ।

तीन दिनअघि निरञ्जन राम हत्या संघर्ष समितिले पत्रकार सम्मेलन गरी विजयलाई प्रहरीले हिरासतमा कुटपिट गरी घाइते बनाएको जनाएको थियो । हत्या आरोपमा प्रहरीले विजयसहित सात जनालाई कर्तव्य ज्यान मुद्दा लगाएको छ ।

नेपाल उत्पीडित जातीय संघ रौतहटका जिल्ला अध्यक्ष नाथुराम परियारले प्रहरीको ज्यादतीले सीमा नाघेको बताए ।

‘हत्यापछि जाहेरी लिएर जाँदा महिला र दलितमाथि गरुडा प्रहरीले दुर्व्यवहारसमेत गर्‍यो,’ उनले भने, ‘हिरासतमा मरणासन्न हुने गरी विजयलाई कुटेर मार्ने प्रहरीमाथि कारबाही हुनुपर्छ ।’

दलित फाउन्डेसनका अभियन्ता मनोज रामले पनि विजयलाई अपराध कबुल गराउने निहुँमा हिरासतमा तीन सुरक्षाकर्मीले बुट र लाठीले हानेर घाइते बनाएको आरोप लगाए ।

 

 

प्रकाशित मिति: Aug 27, 2020

प्रतिक्रिया दिनुहोस्