Logo
५ जेष्ठ २०८१, शनिबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफसका बिरामी भेटिए

गण्डकी प्रदेश स्थित म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् ।

उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो ।

बेनी नगरपालिका-४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका–५ पुलाचौरकी २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ३३ वर्षका पुरुषमा डेङ्गु र स्क्रबटाइफस भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताए ।

अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरकी ३३ वर्षीया महिलामा भने डेङ्गु मात्र देखिएको छ । उनीहरु बाहिरबाट नआएर स्थानीयस्तरमै खेती किसानी र व्यापार व्यवसाय गर्ने व्यक्ति हुन् ।

उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । म्याग्दीमा यस वर्ष ३७ जना डेङ्गु र १२ जना स्क्रबटाइफसका बिरामी भेटिएका छन् ।

गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । मेडिकलमा परीक्षण गराएका केही बिरामी पोखरा गएर उपचार गरेका थिए ।

एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो । बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ ।

नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने, शरीरमा बिमिरा आउने एवं हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् ।

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रम, घर, कौसीको गमला, फूलदानी, एयर कण्डिसन, कुलर र पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ ।

डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ । स्क्रबटाइफस किर्नाको टोकाइबाट सर्छ । डेङ्गु र स्क्रबटाइफसका केही लक्षण मिल्दोजुल्दो हुन्छ ।

स्वास्थ्य कार्यालय र स्थानीय तहले डेङ्गुको बासस्थान नष्ट गर्नाका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन् ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्