Logo
२१ बैशाख २०८१, शुक्रबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसद गगन थापाले मेयर शाक्यलाई भेटेर कोरोना नियन्त्रणका लागि दिए सुझाव

नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै काठमाडौं महानरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ काठमाडौं महानरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

अस्पतलाको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व भएपनि आइसोलेशनको जिम्मा स्थानीय सरकारको भएकाले काठमाडौंका अन्य गरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेशनको व्यवस्थापन गर्न पनि उनले अनुरोध गरेका हुन्।

आइतबार महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिन सुझाव दिएका छन् ।

महानगरभित्र परीक्षणको दायर साँघुरो रहेको र कन्ट्याक्ट ट्रेसिङ पनि सुस्त भएको भन्दै यसलाई चुस्त बनाउन आवश्यक जनशक्ति थप गर्न पनि थापाले आग्रह गरेका छन् ।

सांसद थापाद्वारा मेयर शाक्यलाई ध्यानाकर्षण गराएका सात बुँदा :

१) काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामी सँगै काम गर्न चाहन्छौँ । तपाईं सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२) महानगरभित्र कन्ट्याक्ट ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्नुस् ।

३) कन्ट्याक्ट ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउनुस् ।

४) अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो, तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्डबमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्नुस् ।

५) खाद्यान्न पसल दिनको १–२ घन्टा मात्र खोल्न दिँदा झन् भिडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ बजेसम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घरपिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ ।

६) कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरवासी अलमलमा परेका छन् । नगरवासीलाई अलमल नहोस् भन्नका लागि नागरिकलाई स्वास्थ्यलगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडाअनुसार निश्चित संयन्त्र बनाउन र सोको प्रभावकारी सम्प्रेषण गर्ने व्यवस्था होस् ।

७) उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ । हामी सबै सहयोग गर्न तयार छौँ । सबै तह र निकायसँग समन्वय गर्नुहोस् । महानगरको संरचनालाई गतिशील बनाउनुहोस् । आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस् । नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्