Logo
२३ बैशाख २०८१, आईतबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ स्थित वीरगन्ज भन्सारमा भारतीय कर्मचारी र कामदार निषेध

प्रदेश २ स्थित वीरगन्जको एकीकृत भन्सार जाँच चौकी (आइसीपी) मा भारतीय कर्मचारी र कामदार निषेध गरिएको छ । गत शुक्रबारदेखि आइसीपीमा भारतीय कर्मचारी र कामदार प्रवेशमा पूर्ण रुपले कडाइ गरिएको भन्सारका एजेन्टले बताएका छन् ।

वीरगन्जमा निषेधाज्ञा भएपनि उनीहरु आइसीपी र सुख्खा बन्दरगाह भन्सारमा आएर काम गर्दै आएका थिए । एजेन्टका भारतीय कर्मचारी मात्र सय जनाभन्दा बढी छन् ।

आइसीपी र सुख्खा बन्दरगाहका अधिकांश कामदार भारतीय छन् । कोरोना संक्रमण वृद्धि हुन थालेदेखि नै भारतीय कर्मचारी र कामदारको प्रवेशमा रोक लगाइएको प्रमुख भन्सार अधिकृत गोपाल खत्रीले जनाए ।

‘बीचमा केही लुज भएपनि अहिले पूर्ण रुपले कडाइ गरिएको छ,’ उनले भने, ‘कोरोना संक्रमणको सुरुदेखि नै भारतीय कर्मचारी र कामदारको प्रवेशमा कडाइ गरिएको थियो ।’

एजेन्ट संघका अनुसार निषेधाज्ञाको समयमा समेत भारतीय कर्मचारी र कामदार भारत पट्टिको आइसीपी हुँदै नेपालको आइसीपीमा प्रवेश गरि काम गर्दै आएका थिए ।

‘मुलुकको मुख्य भन्सार विन्दुमै लापरबाही भएको छ,’ वीरगन्ज एजेन्ट संघका एक पदाधिकारीले भने, ‘कोरोना महामारीमा पनि उनीहरु यता आएर काम गरेका छन् ।’ विगत लामो समयदेखि भारतीय कर्मचारी र कामदार नेपालका भन्सारमा आएर काम गर्दै आएका छन् ।

तर, नेपाली कर्मचारी र कामदारलाई भारतीय कस्टम(भन्सार) मा काम गर्न निषेध छ । ‘नेपाली कर्मचारीले पनि भारतीय कस्टममा काम गर्न पाउनुपर्छ भनेर पटक पटक आवाज उठायौँ, मितेरी पुलमा यातायात पनि ठप्प पार्‍यौँ,’ वीरगन्ज एजेन्ट संघका पूर्वअध्यक्ष विजय साह भन्छन्, ‘तर, कुनै सुनवाइ भएन ।’

भारतको बिहार लगायत मुम्बई, दिल्ली, कोलकाता, चेन्नई, बेंगलोर लगायतका विभिन्न सहरबाट मालवाहक सवारी आइसीपी हुँदै नेपाल प्रवेश गर्छन् । भारतमा पछिल्लो डेढ महिनादेखि कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

जानकारहरुका अनुसार उताबाट आएका सामान, मालवाहक सवारी, चालक र सहचालकबाट संक्रमण फैलिने उच्च सम्भावना रहेको छ ।

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्