Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलपत्र परेका नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उडान हुँदै

कोरोनाका तथा विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुँदै छ।

नेपालका दुई नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि उद्धार चार्टर्ड उडान गर्न लागेका हुन्।

नेपाल एयरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको उद्धार उडान तालिका सार्वजनिक गरेका छन्।

विदेशमा अलपत्र नेपाली ल्याउन उद्धार उडान भने नियमित हुनेछ । सरकारले अबको उद्धार उडानमा दैनिक ५०० जनालाई स्वदेश फर्काउने निर्णय गरिसकेको छ।

तीमध्ये २०० जनालाई सरकारले आफ्नै खर्चमा ल्याउने छ भने ३०० जना आफैले टिकट काटेर आउनेछन्।

स्वदेश फर्कने नेपालीलाई सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले गरेको सिफारिसका आधारमा नेपाल ल्याइने जनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज नेपाल एयरलाइन्सले दोहाबाट, हिमालय एयरलाइन्सले क्वालालम्पुर र दोहाबाट तथा फ्लाई दुबईले दुबईबाट नेपालीको उद्धार उडान गरी स्वदेश फर्काउने तालिका छ।

सरकारले भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान खोल्ने घोषणा गरेको भए पनि कोभिडको महामारी राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा तीव्ररुपमा फैलिएपछि हालैको मन्त्रिपरिषद् बैठकले भदौ १५ सम्म व्यावसायिक उडान स्थगन गर्ने निर्णय गरिसकेको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को विवरणअनुसार साउन ३० गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५१ हजार ४४१ रहेको छ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्