Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलपत्र नेपाली कामदारको उद्धार गर्न सरकारले छुट्यायो ७५ करोड बजेट

विभिन्न समयमा वैदेशिक रोजगारको सिलसिलामा गएका नेपाली कामदारको उद्धार गर्न सरकारले वैदेशिक रोजगार बोर्डमार्फत ७५ करोड छुट्याएको छ। तर श्रम स्वीकृति लिई गएका कामदारलाई मात्र उद्धार गर्ने भएको हो।

उक्त रकम वैदेशिक रोजगारमा गएका कामदारको कल्याणकारी कोषबाट छुट्टयाएको हो। विदेशमा एक वर्ष अवधिमा रोजगारी गुमाएको र एकवर्ष भन्दा बढी करार अवधिमा रोजगार गुमाएकालाई ल्याउने तयारी गरेको छ।

नेपाल फर्कने चाहने नेपालीले विदेशस्थित कूटनीतिक नियोगको कार्यालयमा सम्पर्क गरी उपलब्ध प्रमाणसहित कागजात पेस गरी नेपाल फर्कन चाहेमा उद्धार गरिने वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले बताए।

बोर्डको कामदार कल्याण कोषमा ५ अर्ब २ करोड रहेकाे र त्यहीँ पैसाले कामदारको उद्धार तथा बिरामी परेमा उपचार गरिने उनले जनाए।

नियमित अन्तर्राष्ट्रिय उडान भएपछि सरकारले सार्वजनिक गरेको मापदण्डभित्र परेका सबै कामदारलाई स्वदेश फर्काइने सूचना अधिकारी सुवेदीले बताए।

उनका अनुसार नियोगमा रोजगार गुमाएको प्रमाणपत्र सहित पेश गर्नुपर्छ। कम्पनीले करार अवधि अगावै कामबाट निकालेको स-प्रमाण दूतावासले उपलब्ध गराएको फारममा समावेश गर्नुपर्छ।

साउदी अरब, मलेसिया, युएई र कतारमा बढी कामदार अलपत्र रहेको पनि उनले जानकारी दिए। विदेशमा रहेका नियोगले नेपाल फर्कने चाहने कामदारको लागत संकलन गरिरहेको उनले बताए।

एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगार गुमाएकालाई शत प्रतिशत खर्च र एक वर्ष वा सोभन्दा बढी रोजगार अवधि भएकाले गुमाएकालाई ७५ प्रतिशत खर्च व्यहोरी नेपाल उद्धार गरिने जानकारी दिए।

प्रकाशित मिति: Jul 27, 2020

प्रतिक्रिया दिनुहोस्