Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वतन्त्र ढंगले आफ्नो धारणा राखेकै कारण निलम्बन गरिनु खेदनजनक, कारवाही फिर्ता लिन अनुरोध

जसपा बन्ने क्रममा रहेको समाजवादी पार्टीले सांसद सरिता गिरीमाथि गरेको कारवाही फर्ता लिन राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । आयोगकी सदस्य मोहना अन्सारीले पार्टीलाई सो आग्रह गरेकी हुन् ।

पार्टीले कारवाही गरेको समाचार बाहिर आउने वित्तिकै उनले आज आफ्नो ट्वीटरमा लेखेकी छिन्, ‘सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निस्काशन र सांसदबाट निलम्बन हुने विषय खेदनजनक छ ।’

संसदमा आफ्नो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित रहेको भन्दै उनले सो निर्णय फिर्ता लिन आग्रह गरेकी छिन् ।

समाजवादी पार्टीको आज बसेको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएका कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ । नयाँ नक्साअनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो ।

सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् । सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् ।

सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलले सो विधेयक फिर्ता लिनका लागि निर्देशन दिएको थियो ।

फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो ।

तर गिरीले सो विधेयक फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआएको भन्दै उनलाई कारवाही गरेको हो ।

प्रकाशित मिति: Jul 7, 2020

प्रतिक्रिया दिनुहोस्