Logo
२ जेष्ठ २०८१, बुधबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनसँग जोडिएको केरुङ नाकाबाट मलाबाहक कन्टेनर नेपाल भित्रदै

केरुङ नाकाबाट दैनिक १५ वटासम्म कन्टेनर आउने व्यवस्था भएको छ। लामो समय नाका ठप्प रहेको हुँदा व्यवसायीले सामान ल्याउनको लागि माग गरिरहेका थिए।

तत्कालका लागि पुल पारि सवारी चालक, सहचालक र ढुवानी कामदारहरुको परिचयपत्र, स्वास्थ्य जाँचका कागजात ‍पहिले नै पठाएर मात्र सामान लिन जान सक्ने निर्णय भएको रसुवा भन्सार कार्यालयले जनाएको छ।

नेपालीले आयात गरेका मालसान सीमापारि केरुङमा करिब ३ सय कन्टेनर छन्। ती कन्टेनर नेपाल भित्रिन करिब सय दिन लाग्ने अनुमान छ। दैनिक सीमित संख्यामा भित्र्याउँदा नाकामा रहेको पुरानो सामान ३ महिनामा सबै आइपुग्दैन। व्यवसायीले यतिबेला गर्ने नयाँ अर्डरका सामान जाडो समय सुरु हुँदा मात्र आइपुग्न सक्ने भन्सारले जनाएको छ।

केरुङबाट सामान आगामी सोमबारदेखि मात्रै नेपालतर्फ भित्रिने भएको भंसार प्रमुख पुण्यविक्रम खड्काले बताए। ‘उताबाट ल्याएको सामान भन्सारले क्वारेन्टिनमा केही दिन राखेर डिसइन्फेक्सन स्प्रे गरेर काठमाडौं पठाउने तयारी गरिएको छ,’ उनले भने।

केरुङबाट कन्टेनर भित्रिन थालेपछि नाका निरन्तर संचालनमा रहने उनले बताए। ‘उताबाट माल सबै कन्टेनरमा आउँछ, हामीले यता डिसइन्फेक्सनको व्यवस्था गरेका छौं,’ उनले भने, ‘अति आवश्यक स्वास्थ्य सामाग्री भित्र्याउने पहिलो प्रथमिकतामा छ।’

केरुङ नाकाबाट चिनियाँ भंसार कार्यालयका अधिकारीहरूले हालका लागि सुरुमा एक दिनमा चार कन्टेनर र पछि १५ कन्टेनर नेपाल ‍पठाउने व्यवस्था गरेका छन्। रसुवा भंसार कार्यालयका अनुसार चिनियाँ ४ कन्टेनर सामान नेपालको १२ कन्टेनर हुन्छ।

व्यवसायीहरूका अनुसार लामो समय सामान नाकामा रोकिँदा चिनियाँ व्यवसायीहरुले प्रत्यक्ष भेटघाट गर्न खोजेका छैनन्। उनीहरुले केरुङमा थुप्रिएका सामान लगेपछि मात्रै नयाँ अर्डरका सामान पठाउन सकिने जानकारी दिएका छन्।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्