Logo
२ जेष्ठ २०८१, बुधबार
(June 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

होटल व्यवसायीले अघि सारे १४ बुँदे माग, तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी

कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटललाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीको छाता संगठन होटल व्यवसायी महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी महासंघका अध्यक्ष हिराध्वज शाहले माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिए ।

उनले विषम परिस्थितिमा सरकारले ठूला तारे होटल र साना होटलहरु बीच विभेद गरेको आरोपसमेत लगाए । साना होटलले विदेशबाट आउने नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्नबिना शुल्क होटल दिन तयार रहँदासमेत तारे होटलमा महँगो शुल्क तिर्न बाध्य पारिएको उनले बताए ।

अध्यक्ष शाहले विदेशबाट आउने नागरिकको इच्छाअनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्न माग गरे । व्यवसायीहरूले तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्वसम्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायको प्रतिनिधित्व गराउनसमेत माग गरेका छन् ।

होटल व्यवसायीले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिनसमेत माग गरेका छन् ।

यस्तै, लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महशुलमा १ वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, १ वर्षको व्यवसाय कर तथा राजश्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटललाई क्वारेन्टाइनको रूपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न होटल व्यवसायीले माग गरेका छन् ।

प्रकाशित मिति: Jun 25, 2020

प्रतिक्रिया दिनुहोस्