Logo
२३ बैशाख २०८१, आईतबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरको बार्षिक बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजार रुपैयाँ 

होटल तथा पर्यटन क्षेत्रलाई सम्पति करमा भारी छुट

आर्थिक बर्ष २०७७/०७८ का लागि काठमाडौँ महानगरपालिकाको बजेट १६ अर्व ४२ करोड ७३ लाख २६ हजारख रुपैयाँ प्रस्ताव भएको छ ।

आज राष्ट्रिय सभा गृहमा आयोजना गरिएको महानगरको सातौं अधिवेसनको दोश्रो बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उक्त रकम प्रस्ताव गर्नुभएको हो ।

महानगरको सातौं अधिवेशनको पहिलो बैठक असार ४ गते सम्पन्न भएको थियो । त्यस बैठकमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

त्यस बैठकपछि चलेको दोश्रो सत्रमा गरिएको छलफलपछि पारित नीति तथा कार्यक्रमका र महालेखा परीक्षकको कार्यालयले लेखा व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको सुत्र (सब-नेशनल रेगुलाटोरी एप्लिकेसन) का आधारित भएर बार्षिक बजेट प्रस्तुत गरिएको हो ।

उहाँले प्रस्तुत गर्नुभएको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो ।

त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरिएको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो ।

यसै गरी पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बिनियोजन गरिएको छ । यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो ।

सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख रुपैयाँ अर्थात् कुल बजेटको १५ दशमलब २२ प्रतिशत रकम प्रस्ताव गरिएको छ ।

त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट बिनियोजन गरेको छ । यो कुल बजेटको ५ दशमलब ८६ प्रतिशत हो ।

प्रस्तावित बजेट १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको १५ दशमलब ६८ प्रतिशत अर्थात् २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ शसर्त अनुदानबाट प्राप्त हुने अपेक्षा गरिएको छ ।

त्यस्तै ६ अर्ब ७६ करोड ६५ लाख रुपैयाँ आन्तरिक श्रोतबाट प्राप्त हुने अपेक्षा गरिएको छ । यो कुल आम्दानीको ४१ प्रतिशत हो ।

बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार रुपैयाँ, शसर्त अनुदान बाट २ अर्ब ५७ करोड ५१ लाख ५ हजार रुपैयाँ, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड रुपैयाँ, जग्गा एकीकरण आयोजनाबाट ९६ करोड ८ लाख २६ हजार रुपैयाँ आम्दानी अनुमान गरिएको छ ।

कुल आम्दानीमा नपुग हुने रकम ३ अरब ५० करोड रुपैयाँ बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ । यो कूल आम्दानीको २१ दशमलब ३० प्रतिशत हो ।

महानगरपालिकाको आन्दानी अनुमान

आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ । जस अन्तर्गत प्रमुख श्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड रुपैयाँ आम्दानी हुने अनुमान छ ।

त्यस्तै सम्पत्ति करबाट ८० करोड रुपैयाँ, व्यवसाय करबाट ४० करोड रुपैयाँ, विज्ञापन करबाट ६ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

शुल्क आयबाट १ अर्ब ५० करोड रुपैयाँ प्राप्त गर्ने अनुमान छ । यस बर्षदेखि कवाडी कर शीर्षकमा पनि कर संकलन गरिनेछ । यो गतबर्षको शीर्षकमा थपिएको कर हो ।

कवाडी कर संकलन गर्दा उपत्यकाबाट एकमुष्ट संकलन गर्ने र अनुपातमा वितरण प्रणाली मिलाउने योजना रहेको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यको भनाइ छ ।

कोभिड-१९ को असर र रोकथाम न्युनिकरणलाई प्राथमिकता
कोभिड-१९ को असर, त्यसको रोकथाम र यसवाट पर्न सक्ने प्रभाबको न्यूनीकरणका लागि विशेष कार्यक्रममा बजेट विनियोजन गरिएको छ ।

महानगरका लागि बिशेष महत्व मानिने योजनाहरु काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंङ्, भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन, नदी नियन्त्रण तथा कोरिडोर निर्माण, सहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रम बजेट बिनियोजनका प्राथमिक क्षेत्र हुन् ।

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत सीप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागि पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस सञ्चालन, प्रबिधिमैत्री सिटी लाइब्रेरी, महानगर महिला सहजीकरण केन्द्र स्थापना तथा सञ्चालन, युवासँग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिबिर सञ्चालन जस्ता कार्यक्रमहरुका लागि पनि बजेटको व्यवस्था गरिएको छ ।

गोष्ठी, तालिममा बजेट कटौती, सम्पदा संरक्षण र पूर्वाधारमा जोड
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिएर बजेट छुट््याएको छ ।

गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ । ‘महानगरबाट सञ्चालन हुने बिकास कार्यक्रमको सुनिश्चितताका लागि सुत्र (सब-नेशनल ट्रेजरी लेगुराटोरी एप्लिकेसन) मा आधारित बजेट प्रणाली तयार गरिएको छ ।

महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशीलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासील हुने बिश्वास लिएका छौँ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘हामीले सञ्चालन गर्ने बिकासका गतिबिधिहरु समयमा नै सम्पन्न हुनेछन् ।

राखिएको लक्ष्य हासील गरेर जनअपेक्षा पूरा गर्न हामी जनप्रतिनिधि, सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन ।’

प्रकाशित मिति: Jun 24, 2020

प्रतिक्रिया दिनुहोस्