Logo
७ जेष्ठ २०८१, सोमबार
(June 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलाई नागरिकता दिनुपर्ने नेकपाको निर्णय

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालमा विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने महिला ७ वर्ष नेपालमा बसेको र विदेशको नागरिकता वा राष्ट्रियता झल्काउने कागजात परित्यागको प्रकृया सुरु भएपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय पार्टीले गरेको बताए ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको नेकपा सचिवालय बैठकले विवाह गरेको ७ वर्ष नेपालमा स्थायी बसोबास भएको महिलालाई मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको हो ।

‘नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानका विषयमा बैठकमा छलफल भएको हो’ उनले भने, ‘महिला ७ वर्षदशभित्र बसको पुष्टि भएपछि आफ्नो विदेशमा नागरिकता वा अन्य त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्यागका लागि कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न उपयुक्त हुने निष्कर्ष छ ।’

नागरिकता प्राप्त नगर्दासम्म सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकारसहितको आवासिय परिचयपत्र विवाह भएको दिनबाट नै दिइने उनले बताए । नागरिकता संशोधन विधेयकका लामो समयदेखि संसदमा विचाराधीन रहेको छ । पटक पटक यसका प्रावधानहरुमा छलफल भएपनि सहमति जुट्न सकेको छैन् ।

नेपाली कांग्रेसले मधेशवादी दलहरूले अहिलेकै प्रावधानअनुसार विवाह गरेलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन् । अहिले पनि सोही प्रावधान छ । विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ ।

प्रकाशित मिति: Jun 20, 2020

प्रतिक्रिया दिनुहोस्