Logo
२ जेष्ठ २०८१, बुधबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म आफ्नो माइती जान लागेको थिएँ, राज्यले गिरफ्तार गर्न खोज्यो : सरिता गिरी

समाजवादी पार्टीकी सांसद सरिता गिरी कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला सिरहा पुगेकी छिन् । संविधान संशोधनका लागि जेठ ३१ गते प्रतिनिसिभामा भएको मतदान बहिष्कार गरी त्यसको भोलीपल्ट सिरहा गएकी सांसद गिरी आज आफ्ना कार्यकर्ता भेट्नका लागि ठाडी भगवानपुरको सीमावर्ती क्षेत्र पुगेकी थिइन् ।

तर उनी अहिले नयाँ नक्सा र सीमाका विषयमा विवादित भएको हुनाले सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले उनलाई सीमा क्षेत्रबाट फर्काइएको बुझिएको छ ।

सिरहाका डिएसपी सरद थापाकाअनुसार उनी भारत जान लागेकी होइनन्, आफ्ना कार्यकर्ता भेट्न सीमावर्ती क्षेत्रमा गएकी थिइन् र भेटघाट गरी आफैं फर्केकी थिइन् ।

तर सांसद गिरीले भने आफूले नेपालको नयाँ नक्सा र सीमाको कुरा उठाउँदा राज्यले गिरफ्तार गर्न खोजेको आरोप लगाएकी छिन् ।

उनीसँग भएको कुराकानी जस्ताको त्यस्तै :

मेरो बुवा विरामी भएको कारणले उहाँलाई हेर्नका लागि आज म आफ्नो माइती जान लागेको थिएँ । मेरो बुवा ९० वर्षको हुनुहुन्छ ।

उहाँ साह्रै विरामी हुनुहुन्छ । तर, सिरहाको ठाडी नाकामा प्रहरीले मलाई रोके ।

मैले बाटैमा उभिएर वहाँहरुलाई सम्झाउन खोजेँ । मलाई जान दिनुस् भनेर सुरक्षाकर्मीलाई बिन्ती गरेँ । तर मलाई अघि बढ्न दिइएन । मैले गृहमन्त्रालयका दुईजना सहसचिवसँग पनि कुरा गरे ।

उहाँहरुले यो आफ्नो क्षेत्रको कुरा नभएको बताउँदै सिडियोसँग कुरा गर्नुस् भन्नुभयो । मैले सिडियोसँग कुरा गरेँ । मेरो पार्टीका नेता तथा कार्यकर्ताले पनि कुरा गर्नुभयो ।

तर सिडियोले पनि वास्ता गर्नुभएन । जिल्लाको एसपीसँग पनि कुरा गरेँ । सबैले मेरो आग्रहलाई बेवास्ता गरे । मेरो आमा हुनुहुन्न । म जेठी छोरी हुँ ।

दुईटा दिदी बहिनी अमेरिका बस्नुहुन्छ । त्यो कुरा पनि उहाँहरुलाई भने । भारतीय दूतावासलाई भनेर उता (भारत) को डिस्ट्रिक अफिसरलाई भनेर उता (भारत) जानलाई कुरा मिलाएको छु भनेर जानकारी पनि गराएँ । तैपनि मलाई जान दिइएन ।

केही समयपछि मलाई त्यहाँको सशस्त्र प्रहरीले म्याडम भित्रै बस्नुस् न भन्नुभयो । मभित्र गएर बसेँ । त्यहीबेला सशस्त्रको एसपीको फोन आयो । मैले वहाँलाई पनि मेरो कुरा सुनाएँ । तर स्पष्ट जवाफ आएन ।

तैपनि जाने अनुमति पाइहाल्छु कि भनेर त्यहीँ पर्खेर बसिरहेको थिएँ, अचानक मेरै पार्टीका मान्छेहरुले मलाई फोन गर्न थाल्नुभयो ।

दुई वटा फोन आएको थियो । उहाँहरुले मलाई भन्नुभयो कि म्याडम तपाईंलाई गिरफ्तारी गर्ने तयारी भइरहेको छ, तपाईं त्यहाँबाट निस्किनुस् ।

म आत्तिएँ । हतारहतार निस्कन खोजेँ । मैले भगवानपुरमा हाम्रो पार्टीका कार्यकर्ता हुनुहुन्छ, उहाँसँग कुराकानी गरेर म आउँछु भन्दै बहाना बनाएँ ।

म भित्र जाँदा त्यहाँ बाहिर धेरै सुरक्षाकर्मी थिएनन् । जब म बाहिर निस्के, सुरक्षाकर्मीको उपस्थिति बढिसकेको थियो ।

हतारहातर गाडीतर्फ बढे । म गाडीमा बसेपछि एकजना महिला प्रहरी दौडदै आउनुभयो । वहाँले मलाई कहाँ जान लाग्नुभयो भनेर सोध्नुभयो ।

मैले आफ्नो पार्टीका नेतालाई भेटेर पुनः आउँछु भनेर निकस्न खोजेँ । अलिकति गाडीलाई के अगाडि बढाएका थियौँ, सशस्त्रको एउटा गाडी मेरो पछिपछि आउन थाल्यो ।

मलाई भगवानपुर चोकमा फेरि रोकियो । त्यहाँ पनि सशस्त्र प्रहरीले नमस्कार गर्दै कहाँ जान लाग्नु भएको म्याडम सोध्नुभयो । मैले भगवानपुर जान लागेको पार्टीका नेतालाई भेटेर फर्कन्छु अनि म आफ्नो बुवालाई भेट्न जान्छु भनेँ ।

यता, मलाई पार्टीका साथीहरुले बारम्बार फोन गरिराख्नुभएको थियो । ‘त्यहाँबाट निस्कि हाल्नुस् । तपाई त्यहाँ लहानमा नबस्नुस्,’ भन्दै हुनुहुन्थ्यो । प्रहरी निकटहरुले पनि मलाई फोन गरेर ‘म्याडम तपाई सेफ हुनुहुन्न’ भने ।

त्यसपछि म झनै आत्तिएँ । म त्यहाँबाट फटाफट काठमाडौँका लागि हिँडे । सिन्धुलीमा पनि प्रहरीले मेरो पिछा गर्नुभएको थियो । मैले सोधे किन यस्तो गर्नुभएको हो, किन पिछा गर्नुभएको छ ?

वहाँहरुले जवाफमा – एसपी साबको आदेश छ । तपाईंको सुरक्षाका लागि यस्तो गरेको म्याडम भन्नुभयो । मैले सोधे, ‘कुन एसपीले भन्नुभएको हो ?’ तर उहाँहरुले एसपीको नाम बताउनु भएन ।

त्यसपछि मैले झन अनसेफ फिल गरेँ । अहिले सिन्धुलीमा प्रहरी कार्यालयको अगाडिमा आफ्नो कार रोकेर बसेको छु ।

के गरौँ, के नगरौँ भन्ने अन्योलमा छु । नयाँ नक्सा र सीमाको बारेमा कुरा राख्दा सायद मलाई गिरफ्तार गर्न लागेको हो जस्तो लाग्यो । म एकदमै असुरक्षित महसुस गरिरहेको छु, म के गरुँ भन्नुस् त । 

 

(पत्रकार रामभरोसी यादवले करिब साँझ ८ बजे सरिता गिरीसँग गरेको कुराकानीमा आधारित)

साभार : रातोपाटी

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्