Logo
२३ बैशाख २०८१, आईतबार
(June 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्सा परिवर्तन गर्नका लागि ल्याइएको संविधान संशोधन प्रस्ताव राष्ट्रियसभामा पनि स्वीकृत

नक्सा परिवर्तन गर्नका लागि ल्याइएको संविधान संशोधन प्रस्ताव राष्ट्रियसभामा पनि स्वीकृत भएको छ ।

संविधानको अनुसूची ३ मा रहेको निसान छापमा रहेको नेपालको नक्सा परिवर्तन गर्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभामा पुगेको हो।

प्रतिनिधिसभाबाट शनिबार सर्वसम्मत पारित भएको संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल पछि उक्त प्रस्ताव स्वीकृत भएको हो ।

राष्ट्रिय सभाको आइतबारको पहिलो बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गरेका थिए ।

राष्ट्रिय सभाको दोस्रो बैठकमा संविधान संशोधन विधेयकमाथि विचार गरियोस् प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रिय सभामा सैद्धान्तिक छलफल सकिएपछि संविधान संशोधन विधेयकमा सांसदहरूबाट संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ । उक्त समय सकिएपछि राष्ट्रिय सभामा दफावार छलफल हुनेछ र निर्णयार्थ प्रस्तुत गरिनेछ ।

राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक पास भएपछि सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाइनेछ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेपालको निसान छापमा भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा राखिनेछ र प्रयोगमा आउनेछ ।

प्रकाशित मिति: Jun 14, 2020

प्रतिक्रिया दिनुहोस्