Logo
२३ बैशाख २०८१, आईतबार
(June 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन प्रस्ताव फिर्ता गर्न गिरीलाई पुनः निर्देशन : गिरीको जवाफ-‘सोचेर निर्णय लिन्छु’

सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न समाजवादीको ह्वीप

जसपा बन्ने क्रममा रहेका समाजवादी पार्टीको संसदीय दलको बैठकले आफ्नो दलकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ ।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दै गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको हो ।

समाजवादीका एक सांसदका अनुसार गिरी भने संसदीय दलको बैठकबाट बाहिरिएकी छन् । दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै ‘म सोच्छु’ भनेर बाहिरिएको सांसद प्रदीप यादवले जानकारी दिए।

सकरारले संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा रहेको नेपालको नक्सालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर जारी गरिएको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा राख्नका लागि संविधान संशोधन विधेयक ल्याएको थियो ।

सांसद गिरीले सरकारको विधेयक गलत भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । पार्टीले यसअघि पनि गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी पनि दिएको थियो । तर, उनले अझैसम्म उक्त निर्देशन मानेकी छैनन् । संघीय संसद प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ ।

उक्त बैठले संविधान संशोधन विधेयकलाई पास गर्ने कार्यसूची छ । उनको संशोधन नियमविपरित भएकाले सभामुखले खारेज गर्न सक्ने कानुविद्हरुले बताएका छन् ।

यसैबीच भारतीय अतिक्रमणमा रहेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतका क्षेत्र समेटिएको नक्सा संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको विधेयक प्रतिनिधिसभाबाट पारित हुँदैछ ।

प्रतिनिधिसभाको शनिबार १ बजे बस्ने बैठकमा सरकारले ल्याएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित हुन लागेको हो ।

प्रतिनिधिसभाको शनिबारको सम्भावित कार्यसूचीमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची मात्रै रहेको छ ।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले सुरुमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची छ ।

दफावार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले नै उक्त विधेयक पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछिन् । संविधान संशोधन विधेयक पारित हुनका लागि दुई तिहाई बहुमत आवश्यक पर्छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सत्तापक्षका अलवा प्रमुख प्रतिपक्षी काग्रेस र प्रतिपक्षीहरू समाजवादी पार्टी, राजपालगायतले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

अन्य साना दलहरूले पनि संविधान संशोधनको पक्षमा मतदान गर्ने भएका छन् । संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित हुने कि बहुमतले भन्ने समाजवादीको सांसद सरिता गिरीको संशोधन प्रस्तावमा भर पर्नेछ ।

उक्त संशोधन प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावल विपरीत भएकाले खारेज गर्ने सम्भावना रहेको छ ।

प्रतिनिधिसभाबाट पारित भएपछि संविधान संशोधन विधेयक राष्ट्रिय सभामा जानेछ । त्यहाँबाट पनि पारित भएपछि सभामुख सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेटिएको विषयले संवैधानिक मान्यता प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति: Jun 13, 2020

प्रतिक्रिया दिनुहोस्