Logo
२३ बैशाख २०८१, आईतबार
(June 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ नक्सा सहित संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने जसपाको निर्णय

राजपा र सपा मिलेर बन्ने क्रममा रहेको जनता समाजवादी पार्टी, नेपालले संविधानको अनुसूची-३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको जपसा पदाधिकारी बैठकले नयाँ नक्सा र निसान छाप सहित संशोधनसम्बन्धी प्रक्रियामा पक्षमा उभिने निर्णय गरेको हो ।

आज बसेको पदाधिकारी बैठकले संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको हो ।संविधान संशाेधनमा राजपा र समाजवादीको भिन्दै प्रस्ताव दर्ता छ ।

अहिले संसदमा राजपा र समाजवादी भिन्दाभिन्दै अस्तित्वमा छन् । दुवै दलले यसबारे भिन्दै निर्णय लिनेछन् । यता जेठ १९ मा राजपा र समाजवादी पार्टीले नेपालको संविधान (दोस्रो संशोधन विधेयक) संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए ।

२३ बुँदे विधेयकमा यसअघि संविधान निर्माणका बखतदेखि नै मधेसकेन्द्रित दलहरूले उठाउँदै आएका विषय छन् ।

नागरिकता, भाषा, प्रदेशको सीमांकन हेरफेरका लागि आयोग गठन, राष्ट्रिय सभाका लागि निर्वाचन प्रणालीमा संशोधनको प्रस्ताव छ ।

राजदूतलगायत संवैधानिक नियुक्ति समावेशी र समानुपातिक हुनुपर्ने माग छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रभावकारी काम नगरेको भन्दै संविधान संशोधन गरेर संवैधानिक अदालत गठन गर्न माग गरिएको छ ।

यता, साेही पार्टीकी सांसद सरिता गिरीले भने सरकारी विधेयक खारेजीको माग गर्दै प्रस्ताव दर्ता गराएकी छिन् । तर, जसपाले प्रस्ताव फिर्ता नलिए उनलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गिरीले नेपालको नयाँ नक्साका विषयमा आपत्तिजनक र विवादित बयान दिँदै आएकी छिन् । उनीमाथि कारबाही गर्न उनकै पार्टीभित्रबाटसमेत आवाज उठेको छ ।

 

 

प्रकाशित मिति: Jun 12, 2020

प्रतिक्रिया दिनुहोस्