Logo
२२ बैशाख २०८१, शनिबार
(May 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले दियो ३० हजार जनाको पीसीआर टेस्ट गर्न मिल्ने किट उपहार

स्वास्थ्य मन्त्री ढकाललाई पीसीआर टेस्ट किट हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा । तस्वीर : भारतीय दूतावास

भारत सरकारले ३० हजार व्यक्तिको जाँच गर्ने क्षमता भएको पीसीआर टेस्ट किट नेपाल सरकारलाई उपहार दिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई पीसीआर टेस्ट किट आइतबार प्रदान गरे ।

औषधि र किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एक साथ लड्न दुई देशका नेता एवम् जनताबीचको जारी सहकार्यलाई दर्शाउने भारतीय दूतावासले जनाएको छ ।

दूतावासका अनुसार ती किटहरु माई ल्याबले उत्पादन गरेका हुन् । प्याथोडिटेक्ट कोभिड–१९ क्वालिटेटिभ आरटी पीसीआर टेस्ट किटहरु राजदूत क्वात्राले हस्तान्तरण गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘भारतीय जनताको तर्फबाट नेपाली जनताका लागि उपहार स्वरुप प्रदान गरिएको टेस्ट किटहरुको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर टेस्ट गर्न सक्नेछन्,’ दूतावासको विज्ञप्तिमा लेखिएको छ ।

यसअघि गत वैशाख १० गते राजदूत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए ।

दूतावासको विज्ञप्तिमा लेखिएको छ, ‘२०७६ चैत २ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गरेसँगै यी पहलकदमीको सुरुवात भएको हो ।

भारत सरकार यस चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग ऐक्यभाव जनाउँदछ ।’

प्रकाशित मिति: May 17, 2020

प्रतिक्रिया दिनुहोस्