Logo
२३ बैशाख २०८१, आईतबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दश महिनामा ५६८ फर्मलाई जरिवाना: ३ करोड राजश्व संकलन

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ ।

गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उपत्यकाका ४७० र बाहिरका ९८ फर्मबाट कारवाहीस्वरुप २ करोड ८९ लाख ७ हजार राजश्व संकलन भएको छ ।

उनका अनुसार काठमाडौंँ उपत्यका र उपत्यका बाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो ।

विभागको तथ्यांकानुसार दश महिनामा बजार अनुगमका क्रममा खान अयोग्य तथा म्याद सकिएका १ करोड ५५ लाख ४३ हजार ३०३ बराबरको खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धितकहाँ फिर्ता गर्न लगाइएको थियो ।

त्यस्तै अनुगमनका क्रममा ४२९ फर्म सामान्य अवस्थामा रहेको तथा ६४२ फर्ममा सामान्य कैफियत भएको र तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो ।

सूचना अधिकारी आचार्यका अनुसार १४३ फर्मलाई आवश्यक कागजातसहित स्पष्टीकरणमा बोलाइएकोे थियो । सोमा उपत्यकाका १३७ र बाहिरका ६ छन् ।

तिनमा उपत्यकाकाका लकडाउन अवधिका नौ फर्म छन् । त्यस्तै दश फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको जनाइएको छ ।
६४ फर्मलाई जरिवाना

सरकारले गत गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन अवधिमा अनुचित व्यापारिक कारोबार गरेको भन्दै विभागले ६४ फर्मलाई जरिवाना गरेर ८६ लाख २५ हजार राजश्व संकलन गरेको छ ।

बन्दाबन्दी मौका छोपी खाद्य र पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री तथा मासुजन्य पदार्थको बिक्रीवितरणमा बढी मूल्य लिएको भन्दै विभागले ती फर्मलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको छ ।

लकडाउन अवधिमा काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न अस्पतालले उपभोक्ताबाट बढी शुल्क लिने गरेको भन्दै स्वास्थ्यकर्मीका साथमा अस्पतालको समेत अनुगमन गरिँदै आएको छ ।

लकडाउन अवधिमा उपभोक्ताबाट गुनासो आएको भन्दै विभागले ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई २ लाख ५० हजार र थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई आवश्यक कागजसहित लिखित जवाफ माग गरेको थियो ।

विभागले टोल फ्री नम्बर ११३७ मा आएको उपभोक्ताको गुनासोलाई आधार बनाएर दैनिक बजार अनुगमन गर्दै आएको छ ।

चार वर्षदेखि नै टोल फ्री नम्बर सञ्चालन गर्दै आएको भए तापनि लकडाउन अवधिमा धेरै गुनासो आएको विभागका अधिकारी बताउँछन् ।

बिहान ८ देखि बेलुका ८ बजेसम्म विभागले उक्त नम्बरमा आएको गुनासो सम्बोधन गर्दै आएको छ ।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्