Logo
२७ बैशाख २०८१, बिहीबार
(May 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका कामलाई गति दिँदै

गण्डकी प्रदेश स्थित कास्कीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका कामलाई गति दिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण रोक्नका लागि जारी बन्दाबन्दीका बाबजुद सामाजिक दूरी कायम गरेर सुरक्षा अपनाउँदै विकास निर्माण काम अघि बढाइएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाभित्र २० वटा खानेपानीका योजनाको काम बढिरहेको छ । जसका लागि गाउँपालिकाले २ करोड ५० लाख विनियोजन गरेको छ ।

गाउँपालिकाका ५१ वटा ग्रामीण सडक निर्माणका योजना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले त्यसका लागि ७ करोडभन्दा बढी रकम विनियोजन गरिएको बताए ।

उनका अनुसार वडा कार्यालयका पाँचवटा भवनका साथै स्वास्थ्य संस्थाका चारवटा भवन निर्माण पनि भइरहेको छ । जसमध्ये वडा भवनका लागि ४ करोड र स्वास्थ्य भवनका लागि २ करोड छुट्याइएको छ ।

अन्य कृषिलगायतका विभिन्न क्षेत्रमा पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । “बन्दाबन्दीका बाबजुद कृषि तथा विकास निर्माणका कामका लागि प्रदेश सरकारले केही खुकुलो गरिदिएपछि काम अघि बढाउन अझै सहज भएको छ”, अध्यक्ष कुँवरले भने, “सरकारले तोकेको सामाजिक दूरीलगायतका आधारभूत कुरालाई ध्यानमा राख्दै काम अघि बढाएका छौँ ।”

गाउँपालिकाले बन्दाबन्दीका कारण प्रभावित विपन्न मजदुरलाई राहत उपलब्ध गराउन खाद्यान्न भण्डारण गरिसकेको जानकारी दिँदै उनले राहतसँगै उनीहरूलाई सामाजिक काममा लगाउने नीति लिइएको जानकारी दिए ।

प्रकाशित मिति: May 4, 2020

प्रतिक्रिया दिनुहोस्