Logo
२३ बैशाख २०८१, आईतबार
(April 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललितपुर महानगरपालिकाद्वारा निशुल्क खाना खुवाउन सामूहिक मेस सञ्चालन

बाग्मती प्रदेश स्थित ललितपुर महानगरपालिका वडा नं १५ ले सामूहिक मेस सञ्चालन गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलने डरले मुलुक बन्दाबन्दी भएको अवस्थामा दैनिक ज्याला गरी खानुपर्ने वर्गको चुलो नबलेपछि वडाले मेस सञ्चालन गर्न थालेको हो ।

वडाध्यक्ष सुदर्शन मिश्रले भने, “हामीले यहाँका दुई स्थान शान्तिनगर टोलमा रहेको अन्डरवल्र्ड किन्डर गार्डेन मन्टेश्वरी र महेन्द्र आदर्श उच्च माध्यमिक विद्यालय प्राङ्गणमा मेस सञ्चालन गरेका छौँ ।

महानगरपालिकाले एक चरणमा राहत वितरणको काम सम्पन्न गरेपछि गरिब र श्रमिकको हितमा बोर्ड बैठकमार्फत मेस सञ्चालन गर्ने अवधारण अघि बढाएको थियो ।

यसै अवधारणाअनुसार वडा अघि बढेको हो ।” मेसमा पकाउन आवश्यक खाद्यान्न दाल, चामल, तेल, नुन आदि महानगरपालिकाले व्यवस्था गरिदिएको मिश्रले जानकारी दिए ।

वडाले यही वैशाख १२ र १३ गते कामबिना खानै नपाउने व्यक्तिलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । वडामा ४५० ले नाम टिपाएका थिए ।

आज लगभग ५०० बढीले खाना खाएका मिश्रले बताए । उनले भने, “हामीले दिनको दुईपटक उनीहरुलाई खानाको व्यवस्था गरिदिने भएका छौँ ।

बन्दाबन्दी अवधिभर जे–जस्तो परिस्थिति आए पनि यी नागरिकलाई खाना खुवाउने नै निर्णय भएको छ ।” यदि मुलुकमा कोरोना त्रास बढी पुनः बन्दाबन्दी थप भएमा वडालाई सरकारले दिएको विकास बजेट कटाएरै भए पनि गरिबलाई भोको नराख्ने मिश्रले जानकारी दिए ।

वडा नं १५ मा खुमलटार र सातदोवाटो नामक दुई युथ क्लब रहेका छन् । यी क्लबमा अवद्ध व्यक्तिहरुले वडालाई मेस सञ्चालनमा निकै सहयोग गरिरहेका छन् भने केही सङ्घसंस्थाले तरकारीका व्यवस्था गरिदिएको मिश्रले जानकारी दिए ।

यसैगरी महानगरपालिकाको अन्य २८ वडामा भने धमाधम सामूहिक मेस सञ्चालका लागि तथ्याङ्क सङ्कलन गर्ने कम अघि बढेको प्रवक्ता राजु महर्जनले बताए ।

प्रकाशित मिति: Apr 28, 2020

प्रतिक्रिया दिनुहोस्