Logo
२३ बैशाख २०८१, आईतबार
(April 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्व बैंकको प्रक्षेपण : विश्वभरकै रेमिट्यान्समा २० प्रतिशतले कमी आउने

पछिल्लो समयमा कोरोना भाइरस माहामारीले विश्वको अर्थतन्त्रमा ठूलो धक्का पुगीरहेका अवस्थामा विश्व बैंकले कोरोनाका कारण विश्वभरकै मध्यम र निम्न आय भएका देशहरुको रेमिट्यान्समा झण्डै २० प्रतिशतले कमी आउने प्रक्षेपण गरेको छ ।

विश्व बैंकका अनुसार मध्यम र निम्न आय भएका देशहरुमा रेमिट्यान्स १९ दशमलव ७ प्रतिशतले घट्नेछ । यसले गर्दा लाखौं परिवारको जिवनमा समस्या आउने विश्व बैंकको प्रक्षेपण छ ।

मध्यम र निम्न आय भएका देशको रेमिट्यान्स ४ सय ४५ बिलियन डलरमा सीमित हुनेछ । दक्षिण एसियाली देशको रेमिट्यान्स भने २२ दशमलव प्रतिशतले घटेर १ सय ९ बिलियन डलरमा झर्नेछ ।

कोरोना भाइरसको महामारीका कारण सबैजसो देशको अर्थतन्त्रमा मन्दी आउनु, विकास निर्माणको क्रम सुस्त हुनु, रोजगारीको क्षेत्रमा ठूलो क्षति हुनुलगायतका कारणले सन् २०२० मा विश्वभरकै रेमिट्यान्समा कमी आउने विश्व बैंकले जनाएको छ ।

सन् २०१९ मा मध्यम र निम्न आय भएका देशमा कुल ५ सय ५४ बिलियन अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो । सन् २०२१ मा भने रेमिट्यान्स ५ दशलमव ६ प्रतिशतले सुधार भएर ४ सय ७० विलियन अमेरिकी डलरमा पुग्ने विश्व बैंकको अनुमान छ ।

विश्व बैंकका अनुसार युरोप र मध्य एसियामा रेमिट्यान्स २७ दशलमव ५ प्रतिशतले घट्नेछ, सब सहारा अफ्रिकामा २३ दशमलव १, दक्षिण एसियामा २२ दशमलव १, मध्य र उत्तर अफ्रिकामा १९ दशमलव ६, ल्याटिन अमेरिकामा १९ दशमलव ३ र पश्चिम एसियाली क्षेत्रमा १३ प्रतिशतले कमी आउनेछ ।

विश्व बैंकको अध्ययनले भनेको छ, ‘कैयौँ परिवारको पोषणयुक्त खाना, स्वास्थ्य सेवा, शिक्षालगायतको दैनिकी रेमिट्यान्ससँग जोडिएको छ, यसमा कमी आउँदा ती परिवारलाई खाद्यान्न अभाव हुनेदेखि शिक्षा र स्वास्थ्यमा पनि असर पर्नेछ ।’

रेमिट्यान्समा आउने कमीका कारण मध्यम र निम्न आय भएका देशमा पर्ने प्रभाव कम गर्न विश्व बैंकले जी-२० देशसँग छलफल गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति: Apr 23, 2020

प्रतिक्रिया दिनुहोस्