Logo
१७ बैशाख २०८१, सोमबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर सातै प्रदेशको ७७ वटै जिल्लामा कोरोना परीक्षण सुरु, २ सय ५४ जना रेड जोनमा

नेपालमा हालसम्म करिब २५ हजारको कोरोना भाइरसको परीक्षण भएको छ । र्‍र्यापिड डाइग्नोस्टिक टेस्टबाट गरिने परीक्षण ७७ वटै जिल्लामा सुरु भएको छ ।

नेपालमा अहिलेसम्म कूल ३० जनामा कोरोना संक्रमण भएकोमा २ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर २७ हजार बढीको कोभिड १९ परीक्षण भएको जनाएको छ ।

शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षणबाट आठ हजार १७ र आरडीटी किट परीक्षणबाट १९ हजार ४५४ नमूनाको परीक्षण गरिएको जानकारी दिएका हुन् ।

उनले देशका ७७ वटै जिल्लामा रयापिड डाइग्नोस्टिक टेस्ट किटबाट परीक्षण शुरू भएको जानकारी दिए । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा चार हजार ५ सय ३६ व्यक्ति छन् भने आइसोलेसनमा १ सय १७ जना छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा ३ हजार २१ वटा कलको सम्बोधन भएको छ ।

हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यका स्वमूल्याङ्कन गर्नेको संख्या २० हजार १ सय ३० रहेको छ । तिमध्ये २ सय ५४ जना रेड जोनमा रहेका छन् ।

मन्त्रालयले उदयपुरमा भेटिएका १२, चितवनमा भेटिएका दुईजनासमेत गरेर कोभिड १९ संक्रमितको संख्या ३० पुगेको जनाएको छ ।

तीमध्ये पहिलो संक्रमित यसअघि नै निको भएर घर फर्किसकेका छन् भने दोस्रो संक्रमित शनिबार निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाले लामो समयसम्म लक डाउन हुँदा बालबालिकाहरुलाई सृजनात्मक काममा संलग्न गराउन सुझाब दिएका छन् ।

प्रकाशित मिति: Apr 18, 2020

प्रतिक्रिया दिनुहोस्