Logo
२९ बैशाख २०८१, शनिबार
(April 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उदयपुरको मस्जिदमा रहेका संक्रमित सबै भारतीय मुस्लिमलाई विराटनगर सारियो

प्रदेश १ स्थिति उदयपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १२ जनाको पहिचान गर्न समस्या आएपछि सबैलाई बिराटनगर सारिएको छ ।

उनीहरु सबै त्रियुगा नगरपालिका–३ स्थित भुल्लेको एक मस्जिदमा भेटिएका थिए । उनीहरुको र्‍यापिड टेष्टमा नेगेटिभ आएपनि विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ’ देखिएपछि पुनः परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उनीहरु मध्ये १२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्थानीय प्रशासनले १२ भारतीय र चार नेपाली गरी १६ जनालाई विराटनगर सारिएको हो ।

‘नाम नामेसी प्राप्त नहुँदा पहिचान गर्न गाह्रो भयो’ उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले भने, ‘त्यसैले १६ जनालाई एम्बुलेन्समा हालेर पठाएकाछौं ।’

सबै एउटै मस्जिदमा बसेका कारण को पोजेटिभ को नेगेटिभ छुट्याउन गाह्रो भएको प्रजिअ पहाडीले बताए । त्यसैले १६ जनालाई अस्पताल पठाउन स्थानीय प्रशासनले चार वटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।

साथै उनीहरुको ट्राभल हिस्ट्रीको खोजी भइरहेको छ । ‘१० दिन उदयपुरकै अर्काे मस्जिदमा र ३० दिनयता अहिले भेटिएको मस्जिदमा बसेको बताएका छन्’ उनले भने ‘हामी ट्राभल हिस्ट्री खोज्दैछौं ।’

उदयपुरबाट ल्याइएका कोरोना संक्रमितलाई विराटनगरको कोरोना अस्पतालमा राखिएको छ । अस्पतालको व्यवस्थापन कोशी अस्पतालले गर्ने छ ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार शुक्रबार कोरोना पोजेटिभ देखिएका १२ जनालाई विराटनगरमा निर्माण गरिएको अस्थायी कोरोना अस्पतालमा राखिएको हो ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्