Logo
२९ बैशाख २०८१, शनिबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२२८ बेलायती नागरिक बोकेर उड्यो टीटान एयरवेज

संयुक्त अधिराज्य बेलायतको टीटान एयरवेजले २२८ बेलायती नागरिक बोकेर गन्तव्यतिर उडेको छ ।

टीटानले पाँच बालकालिकासहित २२८ यात्रु लिएर केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट फर्किएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडान मार्फत बेलायतले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको छ ।

यसअघि गत चैत २६ र चैत २८ गते पनि टीटान एयरवेजले वेलायती नागरिक लगेको थियो । उसको यो तेस्रो चार्टर्ड उडान हो ।

यसैबीच एयर अरेबियाको कार्गो जहाज पनि आजैसाँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अवतरण गर्नेछ । यो कार्गो उडानमा के कस्ता सामग्री ल्याइएको भन्ने एकिन विवरण आएको छैन ।

जहाज काठमाडौँ आएर यताबाट रित्तै फर्कनेछ । आज विहान नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाईड बडी ए३३० जहाजले चीनको ग्वाङ्जाओबाट अत्यावस्यक स्वास्थ्य सामग्री लिएर फर्किएका थिए ।

दुबै जहाज निजी व्यवसायीले चार्टर्ड गरेर सामाग्री ल्याएका हुन् ।आन्तरिकतर्फ पनि केही उद्धार तथा कार्गो उडान भइरहेका छन् ।

आजै दिउँसो यती एयरलाइन्सको जहाजले ३७ जना चिकित्सक बोकेर धनगढी उडान भरेको विमानस्थलले जनाएको छ ।

सरकारले सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ को परीक्षणका निम्ति थप स्वास्थ्य जनशक्ति पठाएको हो । श्री एयरलाइन्सले पनि सिङ्गापुरको लागि कार्गो उडान गर्दैछ ।

अत्यावश्यक स्वास्थ्य सामग्री लिनका लागि श्रीले जहाज पठाउन लागेको हो । उडान तालिका रहेपनि अहिलेसम्म उडान नभएको विमानस्थलले जनाएको छ ।

यसअघि पनि श्रीले काठमाडौँ-सुडानमा कार्गो उडान गरेको थियो ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्