Logo
३० बैशाख २०८१, आईतबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

असावधानी बढ्न सक्ने भन्दै सुनसरीका मस्जिदमा अब कोही बस्न नपाउने

प्रदेश १ स्थित सुनसरी प्रशासनले मुस्लिम समुदायका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइएका मस्जिदहरु खाली गराएको छ ।

मस्जिदमा बस्ने र बसाउने क्रमले असावधानी बढ्न सक्ने भन्दै सुनसरी प्रशासनले त्यस्तो कदम चालेको हो । प्रजिअ राजेश पौडेलका अनुसार मस्जिद खाली गरिएको भन्ने अर्थलाई गलत ढङगले लिन भने नहुने बताए ।

स्थानीयप्रशासनका अनुसार बाहिरबाट आएर मस्जिदमा शरण लिई बस्न सक्ने सम्भावना र त्यसले समाजमा फैलाउने त्रासका साथै सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर उक्त कदम चालिएको हो ।

पौडेलका अनुसार सुनसरीका विभिन्न मस्जिदमा ५२ जना बस्दै आएका थिए । उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन स्थलमा सारिएको पौडेलले बताए ।

सुनसरीको हरिनगर, दुहवी, इटहरी, बर्जु र भोक्राहाका विभिन्न मस्जिदहरुमा भारतीय र पाकिस्तानी नागरिक सहित बंगालीहरु बस्दै आएको फेला परेका थिए ।

सुनसरीका केहि मस्जिदहरुमा मुस्लिम समुदायका व्यक्तिहरुलाई राखिएकोमा अब भने त्यसो गर्न नपाइने प्रशासनले जनाएको छ ।

मस्जिदलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरी व्यक्तिहरुलाई राख्दा त्यहाँ अन्यको समेत आवतजावत हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने प्रशासनको ठहर छ ।

सुनसरी प्रशासनले दिएको जानकारी अनुसार अब उपरान्त जिल्लाका कुनैपनि मस्जिदमा कोही कसैलाई राख्न पाइने छैन् ।

लुकीछिपी बस्दै आएको भेटिए कानुन बमोजिम कार्वाही गरिने समेत प्रशासनले स्पष्ट पारेको छ ।

प्रशासनले कुनै मस्जिदमा लुकीछिपी कोही व्यक्ति बस्दै आएको भए जानकारी गराउन समेत मुस्लिम अगुवाहरु समक्ष आग्रह गरेको छ ।सुनसरीका ८१ वटा मस्जिद प्रशासनमा दर्ता रहेका छन् ।

सुनसरी प्रशासनले मुस्लिम समुदायलाई मस्जिदमा भिडभाड नगरी सकेसम्म घरमै बसी प्राथना गर्न भनेको छ ।भारतसँग सीमा जोडिएकाले समेत सुनसरीमा प्रशासन कडाई गरेको छ ।

सीमामा सर्तकता बढाउनुका साथै लक डाउनको पालना गराउन सुरक्षाकर्मीलाई तैनाथ गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्