Logo
१५ बैशाख २०८१, शनिबार
(April 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आक्रमक बन्दै प्रहरी : तर कस्तो छ प्रहरीलाई केन्द्रिय निर्देशन ?

लकडाउनको पालना गराउँदै हिडेको प्रहरी पछिल्लो समय आक्रमक बन्दै आएको छ। बिहीवार २ वटा घटना बाहिर आयो, जसले चौविसै घण्टा लकडाउनमा खटिएर स्याबासी पाइरहेको प्रहरीको छवि एकाएक धुमिल बनायो।

कलंकीमा ‍औषधि बोकेर आएकी महिला तथा पुरुषमाथि निर्धात रुपमा प्रहरी प्रस्तुत भयो। आखिर किन ? प्रहरीलाई निर्देशन नै त्यस्तो हुन्छ ? प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले बाटोमा औषधी बोकेर हिँडिरहेका मानिसलाई रोक्यो।

उनीहरु बीच दोहोरो सम्वाद भयो। त्यसपछि प्रहरी र उनीहरु बीच विवाद देखियो। त्यही क्रममा प्रहरीले कुटपिट गर्‍यो। पाँच जनाको समूहमा रहेका प्रहरीले उनीहरुमाथि लाठी बर्साए।

‘हामीले लाठी हान्नुपर्छ भनेर निर्देशन दिएका छैनौं। हान्नु पनि हुँदैन। कोही प्रहरीले गरेमा छानविन गरेर कारबाही गर्छौं,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले भने।

लकडाउनको समयमा उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने भने गरेको छ। दैनिक ३ हजार मानिस उल्लंघन गरेको अभियोगमा नियन्त्रणमा आउने गरेका छन्। उनीहरुलाई सडका तीन घण्टासम्म उभ्याएर फर्काउने गरेको छ।

‘लकडाउन हाम्रो पालनमा हाम्रो लागि मात्र होइन। सबैको लागि हो त्यो बुझेर पालन गर्नु भयो भने राम्रो हुन्थ्यो’ एससएसपी ज्ञवालीले भने।
लकडाउनको समयमा अत्यआवश्यक सामाग्री खरिद गर्न दिएको छ। बिरामी भएको खण्डमा बाहिर निस्किन पाइन्छ।

उनीहरु ‍औषधी किनेर फर्किएको देखिन्छ। लकडाउनको समयमा विरामी तथा औषधी किन्नेहरुलाई छुट दिएको छ। औषधी किनेको देखाउँदा देखाउँदै प्रहरी आक्रमक बनेको देखिन्छ।

त्यस्तै बुधवार राति ड्युटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि कुटपिट भयो। बुधवार राति तीन जना आवासीय चिकित्सक अस्पतालबाट फर्किँने क्रममा कुटपिट भएको थियो।

कान्ति अस्पतालको पछाडि रहेको ओरालोमा प्रहरीले राति ८ बजे कुटपिट गरेको थियो। परिचयपत्र र अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरी गाली गर्दै कुटपिट गरेको थियो।

घटना बाहिरिएपछि प्रहरीले महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटनाको छानविनका समिति गठन गर्‍यो। महानगरीय प्रहरी वृत्त महाजगञ्जका डिएसपी उमेश लम्साललाई कार्यालय प्रमुखको जिम्मेबारीबाट हटाइएको छ ।

प्रकाशित मिति: Apr 17, 2020

प्रतिक्रिया दिनुहोस्