Logo
२ जेष्ठ २०८१, बुधबार
(April 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक महिनाअघि दुबइबाट झापा आएका एक युवाको र्‍यापिड टेस्ट पोजेटिभ, ६१ जनाको जाँच

प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएका मध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ ।

हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए ।

उनका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका ७ जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पिसीआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ ।

हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ ।बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडिटी गरिएको छ ।

हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो । अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ । प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन ।

प्रदेशभरिमा २८४ जनाको स्वाबको नमूना सङ्कलन भएकामा १८ जनाको नतिजा आज आउँदैछ । अरु २६६ जनाको परीक्षण नतिजा नेगेटिभ आइसकेको छ ।

प्रदेश नं १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ ।

पिसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ । झापामा एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते संयुक्त अरब इमिरेट्सको दुबईबाट घर फर्केका हुन् ।

उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी शुरुदेखि नै होम क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित मिति: Apr 16, 2020

प्रतिक्रिया दिनुहोस्